पोखरा । पोखराको एक होटलमा अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु भएको छ । मंगलबार तनहुँ भिमादकी ३८ वर्षीया सुकु विक नागढुंगास्थित युनिक होटलमा मंगलबार साँझ करिब ७ बजेतिर अचेत अवस्थामा फेला परेकी थिइन् । बिकले सोही ठाउँकै शिला रेस्टुरेन्टमा २ वर्षदेखि काम गर्दै आएको बताइएको छ।
विकको अचेत अवस्थामा युनिक होटलबाट उद्धार गरेर चरक मेमोरियल अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । तर, उपचारकै क्रममा साँझ करिब साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा घटना शंकास्पद रहेको खुलेको छ ।
प्रहरीले दिएको जानकारी अनुसार दिउँसो विक र एक जना पुरुष होटलको कोठामा प्रवेश गरेका थिए । कोठामा प्रवेश गरेको केही समयमै पुरुष बाहिरिएको र महिला बेलुकासम्म ननिस्किएपछि होटल सञ्चालकले खोजी गर्दा अचेत अवस्थामा फेला पारेको बताइएको छ ।
यसैबिच प्रहरीले घटना अनुसन्धानका लागि ६ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन । विकको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ ।