अनिल खत्री
गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मीदरवार गाउँपालिकाले बिहीबार सार्वजनिक बिदा दिने भएको छ । मंसिर ७ गते परेको हरिबोधनी एकादशीको अवरसमा २ वटा स्थनीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याल र गुल्मीदरवार गाउँपालिका अध्यक्ष सरोजकुमार थापा हस्ताक्षरित सार्वजनिक सूचनामा एकदशीमा एकदिन रेसुङ्गामा ठूलो मेला लाग्ने भएकाले बिदा दिने निर्णय उल्लेख गरिएको छ । एकादशीको दिन जिल्लाको धार्मिक,ऐतिहासिक एबम् पर्यटकीय स्थल रेसुङ्गामा ठूलो मेला लाग्ने गर्दछ । मेलालाई व्यवस्थीत रुपमा मनाउनको निम्ति कार्यपालिकाको बैठकको निर्णय अनुसार नगर, गाउँपालिका भित्रका संस्था, कार्यालयहरु, माताहतका वडा कार्यालयहरु, सम्पूर्ण शिक्षण संस्था, स्वास्थ्य र अन्य सार्वजनिक संघ संस्थाहरुमा बिदा दिने निर्णय गरेका हुन ।
अहिले रेसुङ्गा क्षेत्रभित्र पूर्वाधार विकास, प्राचीन, ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्तिवक महत्वका वस्तु र स्थानहरुको संरक्षण, सम्बद्र्धन र प्रचारप्रसारको काम भइरहेको छ । रेसुङ्गा पोखरीमा नुहाएमा भुल गरेर गरेको पाप नष्ट हुने मान्यता रहिआएको छ । रेसुङ्गामा दैनीक पूजा हुनुका साथै साउन भर एक महिना मेला र औंसी, ठूला एकादशी लगायतका पर्वहरुमा ठूलो मेला लाग्ने गर्दछ । यश वर्ष रेसुङ्गा नगरपालिकाले पर्यटकको चहलपहल बढाउन भन्दै ” जाउ हिंड रेसुङ्गा ” अभियान पनि सञ्चालन गरेको छ ।
यसैबीच अर्घाखाँचिकाे पाणिनी गाउँपालिकाले हरिबोधनी एकादशीको अवरसमा विहीबार सार्वजनिक विदा दिएको छ ।