काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशसँग २१ रनको हार ब्यहोरेको छ। टस जितेर सुरुमा फील्डिङ गरेको नेपालले बाङ्ग्लादेशलाई केवल एक सय ७ रनको लक्ष्य पाएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र जोड्यो।
२६ रनमा ५ विकेट गुमाएको नेपालले छेटौँ विकेटका लागि ५२ रनको साझेदारी गर्दै जितको सम्भावना देखाएको थियो। १७ औँ ओभरको चौथो बलमा कुशल मल्ल छेटौँ विकेटका रुपमा आउट हुँदा नेपालले ७८ रन जोडेको थियो। योसँगै नेपालको यसपालिको विश्वकप यात्रा जितबिना समाप्त भएको छ।
नेपाललाई अन्तिम तीन ओभरमा २९ रन चाहिएको थियो। १८ औँ ओभरको पहिलो बलमा दीपेन्द्रले छक्का प्रहार गरेपछि खेलमा नेपाल बलियो बनेको थियो। तर उक्त ओभरको पाचौँ बलमा गुल्सन झा गोल्डेन डक आउट भएका थिए । १९ औँ ओभर मुस्ताफिजुर रहमानले विकेट मेडन फ्याँके। सुरुका पाँच बलमा रन नदिएका मुस्ताफिजुरले अन्तिम बलमा दीपेन्द्रलाई आउट गरेका थिए। त्यसपछि लगातार दुई बलमा नेपालले दुई विकेट गुमाएर अलआउट भएको थियो।
यसअघि विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको थियो भने श्रीलङ्कासँगको दोस्रो खेल वर्षाका कारण रद्द हुँदा नेपालले १ अङ्क पाएको थियो। दक्षिण अफ्रिकासँगको तेस्रो खेलमा विजयको नजिक पुगे पनि नेपालले १ रनले उक्त जित गुमाएको थियो। बाङ्ग्लादेशले हालसम्म समूह चरणका ४ खेलमध्ये ३ जितेको छ र १ रनको हार बेहोरेको थियो।