प्युठान । प्युठान जिल्ला सदरमुकाम खलंगाको प्रमुख पर्यटकीय गन्तव्य मानिने मल्लरानी पुग्ने बाटो कालोपत्रे भएको छ । मल्लरानी क्षेत्रको पर्यटन प्रर्वद्धनका लागि मल्लरानी पर्यटन सडक कालोपत्रे गरिएको हो ।
संघीय सरकार र मल्लरानी गाउँपालिकाको समपुरक बजेट मार्फत सदरमुकाम खलंगादेखी मल्लरानीसम्म करीव ५ किलोमिटर सडक कालोपत्रे भएको हो । सडक कालोपत्रे गर्न ३ करोड ९५ लाख ९५ हजार रुपियाँ लागत लागेको छ । उक्त बजेटमा ठेक्का हालेर निर्माण महेश इन्जिनियरिङ एण्ड सत्यवति जेभी र पुष्पा बिल्डर्स एण्ड कम्पनि प्रा.लि.ले दुईवटा स्किममा निर्माण कार्य गरेको योजना शाखा अधिकृत बन्दना शाक्यले जानकारी दिनुभयो ।
मल्लरानी पर्यटन क्षेत्रको विकासका लागि सडक निर्माणसँगै मल्लरानीको विकासका लागि डिपिआर तयार गरिएको गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले जानकारी दिनुभयो । गाउँपालिकाले मल्लरानीलाई प्राथमिकतामा राखेर काम भैरहेको गाउँपालिका अध्यक्ष खड्काले बताउनुभयो । ८ करोड लागतको इस्टिमेट डिपिआरमा छ । पार्क र पिकनिक स्पोट बनाउने काम अहिले भइरहेको अध्यक्ष खड्काले बताउनुभयो ।
सदरमुकाम खलंगाको शिर मल्लरानीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पहल समेत थालिएको छ । मल्लरानीमा नीजि क्षेत्रबाट समेत पर्यटनसँग सम्वन्धित निर्माण कार्यहरु अगाडी बढेका छन् । मल्लरानी टुरिजम कम्पनी प्रा.लि.ले जीपलाईन निर्माणको काम अघि बढाएको छ । त्यसैगरि नयाँ वर्षमा फुड फेस्टिवल सञ्चालन गरेर पर्यटन प्रर्वद्धनको काम गर्ने गरिएको स्थानीय डोर प्रसाद पोख्रेलले बताउनुभयो ।
मल्लरानी प्राचिन मल्लकालिन ऐतिहासिक महत्वको क्षेत्र हो । एक हजार छ सय ५५ मिटर उचाईमा रहेको मल्लरानीबाट प्युठान जिल्लाका अधिकांश क्षेत्र, छिमेकी जिल्ला र धौलागिरी हिमश्रृखलाको अवलोकन गर्न सकिन्छ ।