काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा लगानी गर्न संयुक्त अरब इमिरेट्स युएईका लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ । कोप–२८ मा सहभागी हुने क्रममा बिहीबार साँझ दुबईमा नेपाल– दुबई व्यापार मञ्चलाई सम्बोधन गर्दै उहाँले नेपालमा पूँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गर्नुभएको हो ।

युएईकाे उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे जानकारी दिनुभयाे। नेपाल यतिबेला शान्ति र स्थायीत्वकाे चरणमा रहेकाले लगानीकाे उचित वातावरण रहेकाे प्रधानमन्त्रीकाे भनाइ छ ।

जलविद्युत, पर्यटन र प्रविधिमा लगानी गर्न धेरै आकर्षक रहेकाे भन्दै उहाँले बैदेशिक लगानीलाई सुरक्षित गर्न सरकारले उपयुक्त वातावरण बनाएकाे जानकारी दिनुभयाे । आफ्नाे भारत र चीन भ्रमणकाे स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले दुई वटै छिमेकी मुलुकका उद्याेगीहरु पनि नेपालमा लगानी गर्न उत्साहित रहेकाे उल्लेख गर्नुभयाे ।

दुबइ उद्योग वाणिज्य सङ्घका प्रमुख कार्यकारी अधिकृत मोहम्मद अली बिन रसेद लुटाहले नेपाल उद्योग वाणिज्य सङ्घ र दुबइ उद्योग वाणिज्य सङ्घबीच सहकार्य एवं सहयोग अभिवृद्धिका प्रशस्त क्षेत्र रहेका बताएको उक्त दूतावासले जनाएको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र युएइबीच आर्थिक एवं व्यापारिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा युएइ र नेपालको उद्योग वाणिज्य क्षेत्रका नेतृत्वकर्ता तथा प्रतिष्ठित उद्यमी व्यवसायीहरुको उपस्थिति थियो । त्यसअघि प्रधानमन्त्री दाहालले अवुधाबीस्थित ग्रान्ड मस्कको भ्रमण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय