प्यूठान । वर्षातका कारण विग्रिएका ग्रामीण सडक अहिले मर्मत गरिएको छ । चाडपर्वलाई लक्षित गरि गाउँघरका मोटरबाटो मर्मत गरिएका छन । स्थानीय तहले आफ्नै ब्याकहो लोडर र मेसिन भाडामा लिएर सडक मर्मतको काम गरेका छन । गाउँपालिका भित्रका सडक मर्मत गर्न आफ्नै मेसिन भएपछि सजिलो भएको ऐरावती गाउँपालिकाका अध्यक्ष नविलविक्रम शाहले बताउनुभयो ।

वर्षेनी सडक मर्मतका लागि लाखौं रुपियाँ खर्च हुने गरेकाले यस वर्ष पालिकाले मेसिन खरिद गरेको बताउनुभयो । बाटो मर्मतका बेला मेसिन नै नपाईने समस्याले समयमै बाटो मर्मत गर्न नसक्ने विगतको समस्या टरेको उहाँको भनाई छ ।

जिल्लाको सरुमारानी गाउँपालिका बाहेक सवै स्थानीय तहले व्याकहो लोडर मेसिन खरिद गरेका छन् । व्याकहो लोडर मेसिन नहुँदा मेसिन भाडामा लिएर पालिका भित्रका मुख्य सडकहरु मर्मत गरिसकिएको सरुमारानी गाउँपालिकाका प्रवक्ता चिन्त सोमैमगरले बताउनुभयो ।

मल्लरानी गाउँपालिकाले आफ्नै मेसिनबाट वडाका बाटोहरु मर्मत गरिरहेको छ । मुख्य धार्मिक स्थल झाक्रिस्थानको बाटो वडाकै मेसिनबाट मर्मत गरिएको छ । यसवर्ष वडाभित्रका मुख्यमुख्य बाटो मर्मत गरिएको मल्लरानी गाउँपालिका–३ का वडा अध्यक्ष नोमराज पौडेलले बताउनुभयो ।

दशैका बेला अवरुद्ध भएका केहि सडकहरु सडक पूर्वाधार विकास कार्यालयले समेत मर्मत गरेको छ । अहिले गाडी पास हुने गरि बाटो मर्मत गरिएको र दशैपछि थप सुधार गरिने मल्लरानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिर बहादुर सेजुवालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय