प्यूठान । प्यूठानको प्रमुख जिल्ला अधिकारी रमा आचार्य (सुवेदी)ले अपराध नियन्त्रणसँगै शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी अब्बल रहेको बताउनुभएको छ । बुधबार ६९ औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय प्यूठानले आयोजना गरेको कार्यक्रममा उहाँले नेपाल प्रहरी अपराध अनुसन्धानमा निकै अब्बल भएपनी आम नागरिकको समेत सहयोग उत्तिकै जरुरी रहेको बताउनुभएको हो ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएको प्रमुख जिल्ला अधिकारी आचार्य (सुवेदी)ले शान्ति सुरक्षा, अपराध अनुसन्धानमा नेपाल प्रहरीले उत्कृष्ट कार्यसम्पादन गर्दै आए पनि बढ्दो आईटि (सूचना प्रविधि)को विकासले अपराध अनुसन्धानमा चुनौति थपिएकोले प्रहरीलाई आफुलाई त्यस अनुरुप परिस्किृत गर्नुपर्ने धारणा राख्नुभयो ।

गाउँ समाजमा बिपत्तिमा सहयोग गर्ने देखि जनताको शान्ति सुरक्षा अमनचयन कायम गर्ने, चोरी निकासी र अपराध नियन्त्रण गर्ने काममा प्रहरीले महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आएको प्यूठान प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक दिपेश बस्यालले बताउनुभयो । यद्यपि त्यसमा प्रहरी एक्लैले मात्र नहुने भन्दै आम नागरिकको सहयोगको उत्तिकै भूमिका रहने भएकोले नागरिकसँग हातेमालो गरेर अगाडि बढ्ने उहाँले बताउनुभयो ।

उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी पुरस्कृत

बुधवार एक समारोहका वीच शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा उत्कृष्ट कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय प्यूठानले ५ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको जनाएको छ ।

६९ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय प्यूठानले विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी अधिकृत तथा कर्मचारीहरुलाई नगद पुरस्कार वितरण गरिएको प्रहरी कार्यालय प्यूठानले जनाएकोछ । प्रहरी निरिक्षक केशव केसी, प्रहरी सहायक निरिक्षक योगराज गुरुङ, प्रहरी हवल्दार नविन थापा, प्रहरी सहायक हवल्दार रेनु चौधरी र प्रहरी जवान माधव श्रेष्ठ पुरस्कृत हुनुभएको हो ।

सप्ताह व्यापी विविध कार्यक्रमका विजेताहरुलाई पुरस्कर वितरण

दिवसको अवसरमा सञ्चालित विभिन्न प्रतियोगिताका विजेताहरुलाई प्रमाण पत्र सहित पुरस्कार वितरण गरिएको छ । घैंटोफोर खेलका विजेता प्रहरी जवान अन्जु नेपाली पुरस्कृत हुनुभयो । टेवलटेनिस तर्फ प्रथम प्रहरी सहायक निरिक्षक मनोज शाही र प्रहरी जवान देव शोही र द्धतिय प्रहरी निरिक्षक निरञ्जन रिजाल र प्रहरी जवान ऋषि पुलामीलाई पुरस्कार दिइएको हो ।

त्यस्तै व्याटमिन्टन खेल तर्फ प्रथम प्रहरी सहायक हवल्दार डिलबहादुर थापा र प्रहरी सहायक हवल्दार ललित चौधरी र द्धतिय प्रहरी सहायक निरिक्षक एकराज खड्का र प्रहरी जवान डिलबहादुर सुनारलाई पुरस्कृत गरिएको हो ।

दिवसकै अवसर पारेर आयोजित हाजिरि जवाफ प्रतियोगिताका विजेता प्रथम प्रहरी सहायक निरिक्षक मनोज शाही, प्रहरी जवान प्रकाश खत्री, प्रहरी जवान अन्जु नेपाली र प्रहरी कार्यालय सहयोगी कृष्ण विक र द्धतिय स्थान हासिल गर्ने प्रहरी सहायक निरिक्षक नविन शाह, प्रहरी सहायक हवल्दार दीपक पुरी, प्रहरी जवान सागर विसी, प्रहरी जवान जीवन नेपालीलाई पुरस्कार वितरण गरिएको छ । प्रहरी दिवसको अवसरमा सप्ताह व्यापी विविध कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक केशव केसीले जानकारी दिनुभयो ।

प्रहरीसँग सहकार्य गर्ने कार्यालय तथा ब्यक्तिलाई सम्मान

कार्यालयले दिवसको अवसर पारेर विभिन्न समयमा सहकार्य गर्ने कार्यालय तथा व्यक्तिहरुलाई सम्मान समेत गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना, प्यूठान र समाजिक डिभिजन कार्यालय प्यूठानलाई सम्मान गरिएको हो । त्यस्तै स्वर्गद्धारी आश्रमका सहायक कोठारी रामचन्द्र अधिकारी, ऐरावती गाउँपालिका–५ का कलाकार अर्जुन गन्दर्व, प्यूठान नगरपालिका–८ का व्यवसायी प्रेमबहादुर थापालाई सम्मान गरिएको हो ।

अमर प्रहरी परिवार, जेष्ठ पूर्व प्रहरी, प्रहरी चौकी पुरन्ठाँटी (बरौंला) र देविस्थानलाई निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादातालाई सम्मान गरिएकोछ । अमर प्रहरी परिवार अन्र्तगत प्यूठान नगरपालिका–३ निवासी भगवता विष्टलाई सम्मान गरिएको छ ।

‘साईबर सुरक्षा बारे फैलाउँदै सचेतना सन्देश, जुटौं निर्माण गर्न सुन्दर सामाजिक परिवेश’ भन्ने मुल नाराका साथ सम्पन्न कार्यक्रमको अध्यक्षता प्यूठान प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक दिपेश बस्यालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय