प्यूठान । प्यूठानमा एक टोल बिकास संस्थाले आफ्नो स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरी मनाएको छ । बिहीवार प्यूठान नगरपालिका-२, जुम्री स्थित पशुपतिनगर टोल बिकास संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान तथा सर्वसाधारणको रगत, सुगर मधुमेह परीक्षण गरी मनाएको हो ।

रक्तदान तथा रगत परीक्षण कार्यक्रममा १९ जना रक्तदाताले रगतदान गरेको पशुपतिनगर टोल विकास संस्थाका अध्यक्ष मुक्ति प्रसाद शर्मा अधिकारीले जानकारी दिनुभयो । त्यस्तै ६८ जना स्थानीयको एचआइभी परीक्षण गरिएको छ भने ६९ जनाले आफ्नो शरीरको रक्तचाप तथा मधुमेह (सुगर) परीक्षण गराएको संस्थाका अध्यक्ष शर्मा अधिकारीले बताउनुभयो ।

टोल विकास संस्थाले स्थापना दिवसमा विजयदशमी, दिपावली पर्वको शुभकामना आदानप्रदान सँगसँगै मानवीय सेवाको पवित्र उद्धेश्य अनुरुप रक्तदान तथा रगत परीक्षण कार्यक्रमको आयोजना गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो । अस्पतालमा उपचार गराइरहेका बिरामीको लागि रगत अभाव नहोस् र रगत अभावको कारण अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले यो अभिया थालिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

टोल विकास संस्थाकै अगुवाइमा कोजाग्रत पुर्णिमाको अवसरमा जुम्रीमा लाग्ने मेलालाई समेत लक्षित गरी सर्वसाधारणको लागि शुद्ध पिउने पानी उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला अस्पताल प्यूठानले प्राथमिक उपचार सेवा उपलव्ध गराएको समेत उहाँले जानकारी दिनुभयो । उहाँले कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।

पशुपतिनगर टोलविकास संस्थाको आयोजना, नेपाल रेडक्रस सोसाइटी प्यूठान, प्यूठान जिल्ला अस्पताल, निमतारा पोलिक्लिनिक प्रालि, प्यूठान प्लस,आयुष्मा पानी उद्योग र नेपाल स्वयंसेवी रक्तदाता समाज प्यूठानको समन्वयमा प्यूठान नगरपालिका वडा नम्बर २ र ३ जुम्री स्थित पक्की पुल नजिक पशुपतिनगर चोकमा रक्तदान तथा रगत परीक्षण कार्यक्रम गरिएको हो ।

पशुपतिनगर टोल विकास संस्थाका अध्यक्ष मुक्ति प्रसाद शर्मा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीको प्रमुख आतिथ्यता तथा जिल्ला अस्पताल प्यूठानका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.राजेन्द्र पौडेलको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्यूठान नगरपालिकाका संस्थापक नगरप्रमुख अर्जुन कुमार कक्षपति,डा.सुबास जिसी, प्यूठान नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडा अध्यक्ष सुमन राज श्रेष्ठ, स्वयम्सेवी रक्तदाता समाजका मनुलामा लगायतको सहभागिता रहेको थियो । दान प्रसाद सुवेदीले स्वागत गरेको कार्यक्रमको धर्मराज गिरीले सञ्चालन गर्नुभएको थियो ।

टोल बिकास संस्थाले गरेको मानवीय कार्यको बोल्ने बक्ताले प्रशंसा गरेका थिए। सकारात्मक कार्यको सबैले सिको गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय