प्यूठान । जिल्लाका किसानलाई अहिले धान भित्र्याउन भ्याइनभ्याई छ । जिल्लाकै सवैभन्दा ठूलो फाँट झिमरुक फाँटमा यतिवेला किसानहरु धान भित्र्याउने चटारोमा देखिन्छन ।
दशैं अघि पानी परेर समयमै काट्न र भित्र्याउन नपाउँदा यो वर्ष धान भित्र्याउन केहि ढिला भएको किसान बताउँछन । प्युठान नगरपालिका–४ थापाडाँडाका रिम बहादुर घर्तिले यो वर्ष दशै छिटो भएकाले दशै अघि धान भित्र्याउन नसकिएको बताउनुभयो । उहाँले दशैं सकेर अहिले धान काट्ने काममा लागेको बताउनुभयो । धान काटिसकेपछि थ्रेसर मेसिनबाट धान भित्र्याउने योजना रहेको बताउनुभयो । मेसिनबाट काम गर्दा छिटो र लागत समेत घटेको उहाँले बताउनुभयो ।
सिंचाईको राम्रो सुविधा भएको झिमरुक फाँटमा समयमै धान रोप्ने र समयमै उत्पादन हुने गर्दछ । अझ पछिल्लो समय मेसिन औजारको प्रयोगले खनजोत देखि अन्य काम गर्न किसानलाई सहज भइरहेको गोमा थापाले बताउनुभयो । ‘अहिले काम गर्नका लागि मान्छे पाउनै गाह्रो छ,’ उहाँले भन्नुभयो,‘दिनभर लाग्ने काम मेसिनले एकै घण्टामा सकिन्छ ।’
जिल्लामा धान उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले धान जोनको रुपमा काम गर्दै आएको छ । चैते धान र वर्खे धान गरी दुई बाली धान खेती गरि उत्पादन बढाउन कार्यालयले किसानलाई सहयोग गर्दै आएको छ । कृषि यान्त्रिकरण, उचित वीऊको सिफारिस गरि उत्पादनमा किसानलाई सहयोग गर्दै आएको छ । जसले गर्दा धान उत्पादन र उत्पादकत्वमा समेत वृद्धि हुँदै आएको परियोजनाका कार्यालय प्रमुख चुमानसिंह गिरीले बताउनुभयो ।
जिल्लाभर छ हजार पाँच सय ७५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । त्यसबाट वार्षिक २८ हजार मेट्रिकटन धान उत्पादन हुने गरेको छ । यो वर्ष दश प्रतिशत बढी धान उत्पादन हुने अनुमान एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानको छ । धानको उत्पादन थाहा पाउनका लागि प्राविधिकहरु फिल्डमा खटिएको कार्यालय प्रमुख उमेशचन्द्र श्रेष्ठले बताउनुभयो ।



S.K. Creative Media Group