प्यूठान । नौबहिनी गाउँपालिका-१ स्याउलिबाङमा सडक र विद्धुत लाईन बिस्तारमा भएको ढिलाईको विषयमा छ्लफल भएको छ । शनिवार स्थानीय सर्वसाधारण र सरोकारवालाबीच छलफल तथा अन्तरक्रिया गरिएको हो।
नौबहिनी गाउँपालिका अध्यक्ष दिल बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमा आचार्य, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिपेश बस्याल, सडक पुर्वाधार विकास कार्यालयका निमित्त प्रमुख चन्द्र बहादुर शाह, विद्धुत प्राधिकरण प्युठान वितरण केन्द्रका इन्जिनियर प्रज्वल हुमागाई, निर्माण व्यवसायी तथा सम्पुर्ण दलका राजनीतिकर्मी, स्थानीय बुद्धिजीवी एवं आम स्याउलिबाङ्ग बासिको उपस्थितिमा सर्वदलीय बैठक बसि खुल्ला रुपमा सर्वपक्षीय छलफल र प्रतिबद्धता गरिएको छ ।
बैठक तथा अन्तरक्रियाले केन्द्रिय प्रसारण लाइन विस्तारमा ढिलासुस्ती, नेपाल टेलिकमको टावरमा ब्याट्री ब्याक-अपको समस्या, सडक विस्तार तथा स्तरोन्नति, खाद्य बस्तुहरुको चेकजाँच, स्थानीय उत्पादनको बजारीकरण र बाग्दुला, बहाने, स्याउलिबाङको भाडादर, दुर्घटना न्यूनीकरणका लागि अस्थाई प्रहरी बिट लगायतका अत्यावश्यक विषयवस्तुहरुमा विविध अन्तरक्रिया तथा प्रतिबद्धताहरु समेत सर्वदलीय बैठकबाट टुंगो लागेको छ ।
अन्तरक्रियाबाट जुनसुकै परिस्थितिमा पनि तत्काल काम गरि २०८१ मंसिर १५ गतेभित्र स्याउलिबाङमा बत्ती बल्नुपर्ने जिल्ला प्रशासन कार्यालय, नौबहिनी गाउँपालिका, निर्माण कम्पनी र विद्धुत प्राधिकरण बीच प्रतिबद्धता समेत भएको छ । यस्तै आउदो हप्ताभित्रै नेपाल टेलिकममा देखिएको समस्या समाधानको उपाय खोजेर स्याउलिबाङ बासी उक्त समस्याबाट हैरानी खेप्नु नपर्ने प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभएको छ । साथै दुर्घटना न्यूनीकरणका लागि वडा नं. १, २ र ३ लाई लक्षित गरि माग भइ आएको लिघा पिनारा नजिक अस्थाई प्रहरी बिट कानुनी प्रक्रिया बुझी आवस्यक प्रक्रिया अगाडी बढाउने समेत बताउनुभयो ।
यस्तै २०८१ बैशाख ९ गते सम्झौता भइ २०८३ बैशाख ०८ गते (दुई वर्ष) भित्र सम्पन्न हुने गरि २२ करोड ३ लाख ९ हजार ४ रुपियाँमा कन्काई किब जानकी कम्पनी लि. कन्काइ-३, सुरुङ्गा झापाले सडक पुर्वाधार कार्यालयसंग ३ सय मिटर कज वेय, ७ सय मिटर धलान गरि १ किलोमीटर पक्की सडक र पक्की नाला सहितको बहाने स्याउलिबाङ मोटर बाटो काम सुरु भइरहेको र समयमै सम्पन्न हुने अपेक्षा लिएको सडक पुर्वाधार विकास कार्यालयका निमित्त प्रमुख शाहले बताउनुभएको छ ।
कोठिभिरलाई नौबहिनीको मुख्य पर्यटन क्षेत्रको रुपमा विस्तार गर्न, स्थानीय उत्पादनलाई बजारीकरण गर्न, स्थानीय बासीलाई आत्मनिर्भर गराउन पालिकाबाट कुनैपनी कसुर बाकी नराखेर अगाडी बढिरहेको र सेवाका लागि निरन्तर खटिरहने गाउँपालिका अध्यक्ष थापाले बताउनुभएको छ ।
विद्धुत र सडक विस्तार ढिलासुस्ती साथै नौबहिनी र आसपासका क्षेत्रमा चोरी सिकारी अत्यधिक मात्रामा हुने गरेकोले यसलाई नियन्त्रण गर्न आग्रह गर्दै उक्त जङ्गलमा पाइने विभिन्न किसिमका जडिबुटीहरुको सहि पहिचान गरि बजारीकरण गर्ने हो भने स्थानीयको आयस्रोत समेत वृद्धि हुने स्थानीयको भनाइ छ ।
यसै सन्दर्भमा एक कार्यक्रमका बिच नौबहिनी गाउँपालिका अध्यक्ष थापाको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयबाट अपांग, विपन्न तथा गरिब ५० घरपरिवारलाई राहत स्वरुप १/१ थान कम्मल वितरण गरिएको छ । नौबहिनी गाउँपालिकाले ७५ वर्ष भन्दा माथीका ज्येष्ठ नागरिकहरुलाई १/१ थान छाता र लौरो वितरण समेत गरेको छ । साथै लागू औषध नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ ।





S.K. Creative Media Group