काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को बेस्ट प्लेयरले ओमोडा एण्ड जेइको कम्पनीको गाडी पाउने भएका छन । यसका लागि एनपिएल आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार ओमोडा एण्ड जेइकोलाई सह-प्रायोजकका रूपमा सम्झौता गरेको छ ।

क्यानले मंगलवार पत्रकार सम्मेलन आयोजना गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणका लागि सह-प्रायोजकको रूपमा ओमोडा एण्ड जेइकोसँग साझेदारी गरेको हो । क्यानका सचिव पारस खड्का र एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले ओमोडा एण्ड जेइको र एनपिएलबीचको यो सहकार्यले नेपालमा क्रिकेटको प्रवद्र्धन र विकासका लागि टेवा पु-याउने विश्वास व्यक्त गर्नुभयो । नेपाली क्रिकेटले लोकप्रियता तथा सफलता पाउँदै गरेको समयमा खेल विकासका लक्ष्यहरू हासिल गर्न सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो ।

क्यानका सचिव खड्काले पछिल्लो २०/३० वर्षमा उतारचढाव रहेको नेपाली क्रिकेटमा एनपिएलको आयोजनाले उत्साह ल्याएको उल्लेख गर्दै यो साझेदारीले नेपाली क्रिकेटरमा छुटै उत्साह मिल्ने बताउनुभयो । आगामी मंसिर १५ गतेदेखि एनपिएल शुरू हुँदैछ । पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच पहिलो खेल हुनेछ । एनपिएलका खेलहरू कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय