
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आवधिक योजना र आयोजना बैंक मार्फत योजना छनोटको प्रक्रियालाई प्रभावकारी बनाइने बताउनु भएको छ । लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना तर्जुमा सम्वन्धि प्रदेश विकास परिषद्को बैठकलाई शनिबार लमहीमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले टुक्रे आयोजनालाई निरुत्साहित गर्न आवधिक योजना र आयोजना बैंकले समेटेका योजनाहरुलाई बार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने बताउनु भएको हो ।
‘प्रदेश सरकारले डाटाबेसमा रहेर योजना बनाउछ । यो कामलाई प्राथमिकतामा राखेर अघि बढेका छौं’ उहाँले भन्नुभयो, ‘तथ्यांक र प्रमाणलाइ आधार मानेर योजना छानिन्छन् । यसकालागि आवधिक योजना र आयोजना बैंकले हामिलाई सहयोग गर्ने छ ।’ प्रदेश सरकारले नयाँ योजना थप्ने भन्दा पनि अधुरा आयोजनालाई सम्पन्न गर्न प्राथमिकतामा राखेको, रणनीतिक रुपमा महत्व बोक्ने, प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रको विकासमा योगदान पु¥याउने योजनालाई सरकारले प्राथमिकतामा राख्ने भनाई मुख्यमन्त्री आचार्यको छ ।
‘हरेक क्षेत्रमा तथ्यांकलाई योजना छनोटको आधार निर्माण गर्छौं । आयोजना बैंक मार्फत काम गर्छाैं । टुक्रे योजनालाइ निरुत्साहित गर्न हामी गम्भीर छौं’उहाँले भन्नुभयो,‘आगामी बजेटमा टुक्रे योजना घटाउछौं । यो सन्देश तल सम्म पु¥याउन जरुरी छ । दवावमा होइन तथ्यांक र प्रमाणको आधारमा योजना छान्न जरुरी छ ।’ आवधिक योजनालाई प्रदेश मन्त्रिपरिषद् बैठकबाट पारित गर्नु अघि प्रदेश विकास परिषद् बैठकमा प्राप्त सुझावहरुलाइ समेटिने मुख्यमन्त्री आचार्यले बताउनुभयो । ‘यहाँ प्राप्त महत्वपूर्ण सुझावलाई लिपिबद्द गरेका छौं । योजना विना हामी अगाडि बढ्यौं भने गन्तव्यमा पुग्न सकिदैन । यो सबैको साझा बिषय बनेको छ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘सरकारले अघि बढाएको प्राथमिकताको कार्ययोजनामा सबैको साझा एक्यवद्धता पाएको छु ।’
प्रदेश सरकार स्थापना भएदेखीको अवधिमा भएको प्रगतीलाई नजरअन्दाज गर्न नहुने बताउनु भएको छ । प्रदेश सरकार स्थापनाभएपछी विकास निर्माणको कामले गति लिएको, गाउँ शहरको मुहार फेरिएको, जनताको आधारभुत आवश्यकताहरु पुरा गर्न सरकारले सफलता प्राप्त गरिरहेको स्पष्ट पार्नू भएको छ ।‘सात बर्ष अघिको अवस्था र सात बर्षपछीको अवस्थालाई तुलना गरौं । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार, उद्यमशिलता लगायतको अवस्था के थियो ? अहिले के उपलब्धिहरु प्राप्त भएका छन् । तुलना गरेर विश्लेषण गर्न जरुरी छ’ मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘प्रदेश सरकारले सम्पादन गरेका कामहरुले सकारात्मक नतिजा र उपलब्धी दिएको छ ।’
बैठकलाई पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दल नेता डिल्लीबहादुर चौधरी, पूर्व मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्र संसदीय दल नेता जोखबहादुर महरा लगायतका वक्ताहरुले सम्वोधन गर्दै योजनाबद्ध विकास र प्रदेशका प्राथमिकताका आधारमा आवधिक योजनाले दिशानिर्देश गर्नुपर्नेमा जोड दिएका थिए ।