
प्यूठान । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा प्युठानमा एक्लै चुनाव लडेको अनेरास्ववियुले एउटा क्याम्पसमा जित हासिल गरेको छ । स्वर्गद्धारी नगरपालिका स्थित अमर क्याम्पसमा गठबन्धनलाई पराजित गर्दै अनेरास्ववियुले जित हासिल गरेको हो ।
अनेरास्ववियुको तर्फबाट अध्यक्षका उम्मेदवार जीवन रोकामगर निर्वाचित हुनुभएको हो । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), अखिल (समाजवादी) र अखिल (छैठौं) को साझा प्यानलबाट उम्मेदवार बनेका राजेश बुढाथोकीलाई तीन मतको अन्तरले पछि पार्दै जित हासिल गर्नुभएको हो । रोकामगरले १२१ मत पाउनुभयो भने बुढाथोकीले ११८ मत मात्र पाउनुभयो ।
प्यूठान क्याम्पसमा गठबन्धनबाट नेपाल विद्यार्थी संघका प्रमोद ओली अध्यक्षमा निर्वाचित हुनुभएको छ भने गौमुखी क्याम्पसमा गठबन्धनबाटै अखिल (छैठौं) का प्रविन जिसी अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
जिल्लाकै झिमरुक बहुमुखी क्याम्पसमा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । अनेरास्ववियु (समाजवादी) का कमल रोका अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो । विवादका कारण करीव एक हजार विद्यार्थी रहेको जिल्लाकै पुरानो र ठूलो स्वर्गद्धारी बहुमुखी क्याम्पसमा भने निर्वाचन स्थगित भएको छ । विवाद हल गरेर चैत १४ गते निर्वाचन गर्ने क्याम्पस प्रशासनले तयारी गरेको छ ।