प्युठान । जिल्लाको झिमरुक गाउँपालिकाले तिन दिने च्याउखेती सम्बन्धि सिप बिकास तालिम शुरु गरेको छ । झिमरुक गाउँपालिका-७, तुषारामा मंगलबारदेखि शुरु भएको तालिमको एक कार्यक्रम बिच गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले उद्घाटन गर्नुभएको हो ।
तालिम उद्घाटन गर्दै झिमरुक गाउँपालिकाका अध्यक्ष महतरा क्षेत्रीले महिलाहरूलाई आत्मनिर्भर बनाउन गाउँपालिकाले सञ्चालन गरेका सीपमूलक तालिमहरूमा गरिएको लगानी खेर जान नदिई प्राप्त ज्ञानलाई व्यवसायमा रूपान्तरण गर्नुपर्ने बताउनुभयो। उहाँले यस्ता तालिमहरूले महिलाहरूको आत्मबल अभिवृद्धि गर्दै घरमै बसेर आय आर्जनक्क अवसर सृजना हुने बताउनुभयो।
कार्यक्रम मार्फत स्थानीय महिलाहरूको जीवनस्तर उकास्ने प्रयास भइरहेको बताउँदै तालिममा सहभागीहरूले पाएको सीपलाई स्थायी आम्दानीको स्रोतमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले आगामी आर्थिक वर्षको बजेटमा पालिकाले थप यस्ता कार्यक्रमका लागि बजेट व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले पालिकाले जग्गा लिजमा लिएर समेत विभिन्न खेतीपातीको कृषक पाठशाला चलाउदै आएको बताउनुभयो ।
झिमरुक गाउँपालिकाको आर्थिक सहयोग र तुषारा सामुदायिक अध्यायन केन्द्रद्वारा सञ्चालित तिन दिने च्याउ खेती सम्बन्धि सिप बिकास तालिम शुरु गरिएको संस्थाको कर्मचारी बिमला अधिकारी पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार तालिम फागुन ७ गतेसम्म चल्नेछ ।
तुषारा सामुदायिक अध्यायन केन्द्रका अध्यक्ष हरि जिसीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिती गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्री रहेको थियो ।
संस्थाका सदस्य चन्द्र प्रसाद पोख्रेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सिद्धिमान एमसीले गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी स्थानीय लगायतको उपस्थिति रहेको थियो।
तालिममा झिमरुक गाउँपालिका-७, का विभिन्न बस्तीका ३० जना महिलाको सहभागिता रहेको छ । तालिमको प्रमुख प्रशिक्षक गिरिराज पोख्रेल रहनु भएको छ।
गाउँमै तालिम पाउने भएपछि स्थानीय महिलाहरु हौसिएका छन् महिलाहरूले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतारी घरमै सानो स्तरको उत्पादन सुरु गर्ने र त्यसलाई क्रमशः व्यवसायिक रूपमा विस्तार गर्ने प्रतिबद्धता समेत जनाएको संस्थाका अध्यक्ष हरी जिसीले जानकारी दिनुभयो ।





S.K. Creative Media Group