काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा भएको कुटपिटबारे छानबिन गर्न छनबिन समिति गठन गरिएको छ । शुक्रबार अध्यागमनका कर्मचारी र प्रहरीबिच कुटपिट भएको घटना सार्वजनिक भएपछि सत्यतथ्य बुझ्न छानबिन समिति गठन गरिएको हो ।
मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक वक्तव्य जारी गर्दै घटनाको आवश्यक छानविन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिनुभएको छ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारी र प्रहरीबीच भएको घटनाका सम्बन्धमा गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । त्यस्तै समितिको सदस्यमा प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुल बहादुर जिसी सदस्य रहेको उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजि श्रेष्ठकाे प्रेससल्लाहाकार कमल गिरीले जानकारी दिनुभयो ।
शुक्रबार बिहान अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए । मेटल डिटेक्टर भएको स्थानमा उहाँलाई चेकजाँच गर्ने क्रममा विवाद भएको र त्यही क्रममा आफूमाथि कुटपिट भएको मोक्तानले बताउनुभयो ।