प्यूठान । प्रगतिशील तथा श्रमजीवी पत्रकारहरूको साझा संगठन प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसरमा बिभिन्न बिधामा पुरस्कार प्रदान गर्ने भएको छ । संगठनले अग्रजहरूको सम्मान तथा क्रियाशील पत्रकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरी हरेक वर्ष प्रदान गर्दै आइरहेको विभिन्न विधाको पत्रकारिता पुरस्कार यस वर्ष पनि प्रदान गर्ने निर्णय गरेको हो ।
हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार अखण्ड भण्डारी (अन्नपूर्ण दैनिक, सम्पादक), अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार माधव नेपाल (सिन्धुपाञ्चोक), डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार महेश केसी (रुकुमपूर्व), वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार फनिदेव महत (रौतहट), सावित्रीदेवी–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार काजल तामाङ (काभ्रेपलाञ्चोक) र चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार यसिमा महत (रामेछाप) लाई प्रदान गर्ने पुरस्कार छनौट समितिले निर्णय गरेको हो ।
संगठनले केन्द्र सहित सबै प्रदेश, जिल्ला तथा पालिका कमिटीहरूमा विभिन्न रचनात्मक कार्यक्रम गरी माघ २२ गते संगठनको २६ औँ स्थापना दिवस मनाउने समेत महासचिव हिरामान लामाले जानकारी दिनुभयो ।