
भालुबाङ । दाङको राप्ती गाउँपालिकाले स्थानीय पार्क सामुदायिक बन लगायतका पर्यटकीय क्षेत्रको सौर्न्दर्यको लागि विभिन्न जातका नि:शुल्क रुपमा फलफुलका बिरुवा वितरण गरेको छ । गाउँपालिकाले विभिन्न जातका करिब ५ हजार फलफूलका बिरुवा वितरण गरेको हो ।
गाउँपालिकाले पालिका अन्तर्गत रहेका सामुदायिक वन तथा पर्यटकीय स्थलहरुलाई हरियाली एवम् साैन्दर्यकरण गर्नका लागि वन उपभोक्त समिति तथा समूहहरुलाई आवस्यकता अनुसार नि:शुल्क रुपमा फलफूलका बिरुवा वितरण गरिएको गाउँपालिकाका वन तथा वातावरण फाेकल पर्सन सुवास भट्टराईले जानकारी दिनुभयाे ।
पालिकाका विभिन्न सामुदायिक वनकाे खाली क्षेत्रमा बृक्षरोपणका लागि आँप, अम्बा, अमला, सित्तलचिनी गरि दुई हजार पाँच सय बिरुवा हस्तान्तरण गरिएको वन तथा वातावरण फाेकल पर्सन भट्टराईले जानकारी दिनुभयाे। उहाँका अनुसार धार्मिक तथा पर्यटकीय स्थल एवम् पार्कहरुमा साैन्दर्यकरण गर्नका लागि विभिन्न जातका ३ हजार फूलका बिरुवाहरु वितरण गरिएको छ।
राप्ती गाउँपालिका सबै वडा भित्र रहेका सामुदायिक वनकाे खाली क्षेत्र तथा सार्वजनिक जग्गाहरुमा अधिकतम फलफूलका बिरुवाहरु राेपेर हरियाली बनाउनुका साथै पालिकालाई फलफूलमा आत्मनिर्भर बनाउने उदेश्य फलफूलको बिरुवा वितरण गरिएको पालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो ।