
रबिन विश्वकर्मा, प्यूठान । प्यूठानमा चाडपर्व लक्षित बजार अनुगमनलाई तिब्र पारिएको छ । बुधबार एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानको आयोजना र जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा विभिन्न सरकारी निकायको समन्वयमा चाडपर्व लक्षित गरी मासु, डेरी तथा माछा पसलमा अनुगमन तिब्र बनाएको हो।
जिल्लामा म्याद गुज्रिएका सामान छ्यापछ्याप्ती बिक्रीवितरण गरिएको पाइएपछि अनुगमनलाई व्यापक बनाइएको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानका निमित्त कार्यालय प्रमुख उमेश चन्द्र श्रेष्ठले बताउनुभयो । मानिसलाई प्रत्येक्ष असर पुग्ने मासु, डेरी तथा माछा पसलहरुमा अनुगमान गरिएको उहाँले जानकारी दिनुभयो ।
टोलीले माण्डवी गाउँपालिका-३ जस्पुर, चकचके, प्यूठान नगरपालिका-२ को क्वाडि, रातामाटा र वडा नम्बर ३ को जुम्रीमा रहेका मासु तथा डेरी पसलहरुमा गरिएको अनुगमनबाट ४ हजार बढीको म्याद नाघेका सामाग्री बरामद गरि नष्ट गरेको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानका पशु विकास अधिकृत डाक्टर गणेश पुनले जानकारी दिनुभयो ।
माण्डबी गाउँपालिका र प्युठान नगरपालिका ७ वटा मासु पसल र २ वटा डेरी पसलमा अनुगमन गर्दा म्याद नाघेका आईसक्रिम, कुल्फि, पेयपदार्थ कोक, सडेको ३ केजी ४ सय ६८ ग्राम मासु भेटिएको डाक्टर पुनले बताउनुभयो । उहाँका अनुसार बजारमा सबैभन्दा बढि म्याद नाघेको बस्तुमा आईसक्रिम भेटिएको थियो।
अनुगमनको क्रममा केहि पसलमा सरकारी मापदण्ड पूरा नगरी व्यवस्थित नभएको समेत पाइएकाले अनिवार्य रुपमा नेपाल सरकारले तोकेको मापदण्ड अनुसार सबै प्रकृया पुरा गरेर मात्रै पसलहरु संञ्चाल गर्न ब्यवसायीहरुलाई निर्देशन दिएको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानका निमित्त कार्यालय प्रमुख उमेश चन्द्र श्रेष्ठले बताउनुभयो ।
बजार अनुगमनका क्रममा व्यवसायीलाई सबै प्रकृया पूरा गर्न सल्लाह, सुझाब दिएको र अर्काे पटकको अनुगमनमा प्रकृया पूरा नगरेको, आम जनताको स्वास्थ्य माथि खेलवाड गदै म्याद नाघेका अखाद्य बस्तु बिक्रिवितरण गरेकोे भेटिएमा जरिवाना सँगसँगै प्रकृति हेरि पसल शिल समेत गरिने उहाँले बताउनुभयो । जिल्लामा ठुला ब्यापारीहरुबाट नै म्याद नाघेका सामाग्री बिक्रि वितरण गर्ने गरेको पाइएकाले व्यवसायी तथा उपभोक्तालाई सामानको उपभोग मिती हेरेर मात्रै बिक्रीवितरण तथा खरिद गर्न निमित्त कार्यालय प्रमुख श्रेष्ठले आग्रह गर्नुभयो ।
कार्यालयको चालु आर्थिक बर्ष २०८१÷८२ को बार्षिक स्वीकृत पशुपन्छी तथा मत्स्य नियम कार्यक्रम अन्तर्गत अनुगमन गरिएको हो । अनुगमनमा कार्यालयका निमित्त कार्यालय प्रमुख उमेश चन्द्र श्रेष्ठ, ईलाका प्रशासन कार्यालय जस्पुरका प्रमुख मेघ प्रसाद पोख्रेल, घरेलु तथा साना उद्योग कार्यालय, माण्डवी गाउँपालिका र प्यूठान नगरपालिकाका पशु सेवा शाखाका प्रमुख तथा प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रतिनिधि, पत्रकार, कार्यालयका कर्मचारी लगायतको सहभागितामा अनुगमन गरिएको थियो ।