प्यूठान । स्थानीय सरकार बनेपछि जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, बालबालिका लगायतले पाउने सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण गर्न अनिवार्य गर्यो । जसले गर्दा सवै स्थानीय तहमा बैंक स्थापना समेत भए । तर उक्त प्रक्रियाका कारण घरदैलोमै सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका लाभग्राहीलाई समस्या पर्यो ।
उक्त समस्यालाई आत्मसात गर्दै अहिले स्थानीय तहले बैंकसँग समन्वय गरेर पायक पर्ने गरी वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएका छन् । प्यूठानको माण्डवी गाउँपालिकाले सवै वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको छ । अझ वडाका विभिन्न टोलमा पुगेर पायक पर्ने गरी सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरिएको वडा नम्वर ३ का वडा अध्यक्ष धनेन्द्र कार्कीले बताउनुभयो ।
अहिले पालिकाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ । माघ १० गतेदेखि सामाजिक सुरक्षा भत्ता वितरण थालिएको हो । वडा नम्वर ३ ले वडाका ३ ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको वडा अध्यक्ष कार्कीले बताउनुभयो । वडा कार्यालय, मार्सिवाङ र स्याउलिघारीबाट भत्ता वितरण गरिएको उहाँले बताउनुभयो ।
भत्तासँगै स्वास्थ्य जाँच
सामाजिक सुरक्षा भत्ता बुझ्न पुगेका व्यक्तिको वडा कार्यालयले स्वास्थ्य जाँच समेत गरेको वडा अध्यक्ष कार्कीले जानकारी दिुनभयो । देविस्थान स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले १०२ जनाको स्वास्थ्य जाँच गरि औषधि वितरण गरेको अध्यक्ष कार्कीले बताउनुभयो ।