प्यूठान । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिले यसवर्षको भाइटीकाको शुभसाइत यहीँ कार्तिक १८ गते आइतबार बिहान ११ बजेर ३७ मिनेट उत्तम रहेको जनाएको छ ।

समितिले पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि भाइटिकाको दिन कार्तिक १८ गते परेको जनाइएको छ ।

समितिका अनुसार आज कार्तिक १३ गतेदेखि यसवर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार शुरू भएको छ । आज मंगलबार धनत्रयोदशी (धनतेरस) पर्व मनाइदैछ । भोलि कार्तिक १४ गते बुधबार यमदीपदान परेको छ । त्यस्तै कागतिहार पनि बुधवार नै मनाउनुपर्ने समितिले जनाएको छ । आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधवार नै परेकोले सोही बनाउने जनाएको छ ।

त्यस्तै कात्तिक १५ गते बिहीवार कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि एकै दिन परेको समितिले जनाएको छ । कात्तिक १६ गते शुक्रवार औँशी परेको छ । त्यस दिन भने तिहारको कुनै पर्व नपरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

कात्तिक १७ गते शनिवार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि परेको छ । यसैगरी कात्तिक २२ गते बिहीवार छठ पर्व परेको पनि समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय