माया गिरी
झिमरुक । प्युठानको झिमरुक गाउँपालिका-६, तोरवाङमा पोषणमैत्री स्थानीय शासन सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार वडा कार्यालयमा गरिएको कार्यक्रममा सुरक्षा निर्देशक समिती र सरोकारवालाहरुलाई पोषण उन्मुख नमुना बस्तीको अवधारणा र पोषण मैत्री स्थानीय शासन सम्बन्धि कार्यक्रमलाई जागरुक बनाउन एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बहुक्षेत्रीय पोषण कार्यक्रम, आधारभुत पोषण, पोषणमैत्री स्थानीय शासनको अवधारणा, बालमैत्री र पोषणमैत्री स्थानीय शासन, पोषण मैत्री स्थानीय शासनका सुचकहरुको बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रमले सुनौलो हजार दिनका आमाहरुलाई कुपोषणबाट बचाउन आयआर्जन संग जोडेर लैजाने उदेश्य रहेको स्वास्थ्य शाखा उप प्रमुख हरि जिसीले बताउनुभयो । कुखुरा पालन तरकारी खेती र अन्य कृषि संग जोडन सकेमात्र आमा र बच्चाहरुलाई कुपोषणबाट बचाउन सकिने उहाँले बताउनुभयो ।
पोषणमैत्री नमुना टोल बनाउन झिमरुक-६, स्थित मर्कावाङ्ग बस्तीलाई छनोट गर्ने निर्णय भएको छ । यो टोलमा रहेका सुनौलो हजार दिनका ३० आमाहरुलाई आत्मनिर्भर बनाउने गरि यो क्षेत्रमा कार्यक्रम छनोट गरेको हो । छनोट भएको बस्तीमा पोषण नमुना टोल समिती गठन गरि सुनौलो हजार दिनका आमाहरुको तथ्यांक तयारी गर्ने र आमा समुहका सदस्यहरुलाई करेशाबारी प्रबर्द्धनका लागि अभिमुखीकरण तालिम तथा उन्नत जातका बीउ र टनेल वितरण गर्ने कार्यक्रम रहेको स्वास्थ्य शाखा उपप्रमुख जिसीले बताउनुभयो।
वडा अध्यक्ष धन बहादुर पुनको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा उपप्रमुख हरी जिसी र पोषण सहजकर्ता सम्झना केसीले गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि कर्मचारी आमा समुहका सदस्य बिद्यालय शिक्षक फोकल पर्सन स्वयंसेबिका लगाएको उपस्थिति रहेको थियो ।