झिमरुक (प्यूठान)। प्यूठानको झिमरुक गाउँपालिकाले विकास निर्माणका योजनाहरु संचालन गर्दा अब योजना बैंक मार्फत गर्ने नीतिगत निर्णय गरेको छ । शनिवार सम्पन्न पालिकाको १८ औँ गाउँसभाले भौतिक पूर्वाधार निर्माणका योजनाहरुलाई निश्चित मापदण्ड बनाएर मात्र संचालन गर्ने नीति ल्याएको हो ।
विकासको मेरुदण्ड मानिने पूर्वाधार विकासको बजेटलाई भनसुन र पहुँचको आधारमा खर्च नहोस् भन्नका लागि यस्तो नीति ल्याइएको पालिकाका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो । नागरिकको करबाट हुने विकास निर्माणलाई लक्षित वर्गमै पुग्नका लागि विकास योजनाहरुलाई निश्चित मापदण्ड बनाएर मात्र संचालन गर्नुपर्ने देखिएको उनको भनाई छ । आगामी आर्थिक वर्ष २०८२÷०८३ बाट उक्त योजना कार्यान्वयनमा आउने पालिकाले जनाएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि नै आठ वटै वडामा एक÷एक वटा वडाका गौरवका योजनाहरु संचालन गर्ने समेत नीति ल्याएको छ । पालिकाले आगामी वर्षदेखि झिमरुक पर्यटन गुरुयोजना बनाउने लक्ष्य लिएको छ । गुरुयोजना अनुसार एक वडा, एक पर्यटन गन्तव्यको रुपमा विशेष कार्यक्रम गर्ने समेत पालिकाले नीति अघि सारेको छ ।
पालिकाले नयाँ योजनाको रुपमा अवदेखि तथ्यांक शाखाको स्थापना गर्ने नीति ल्याएको छ । सार्वजनिक सरोकारका विषयहरुसंग सम्वन्धित सूचना एवं तथ्य तथ्यांक उपलव्ध गराउने उद्देश्यले पहिलोपटक तथ्यांक शाखाकै रुपमा स्थापना गर्ने नीति ल्याइएको हो । तथ्य तथ्यांकबीना विकास निर्माणको काम दिगो र प्रभावकारी हुँदैन भन्ने कुरालाई आत्मसाथ गर्दै पालिकाले पहिलोपटक यस्तो योजना ल्याएको जनाएको छ ।
विकास निर्माण लगायत आवश्यक तथ्यांकहरु उक्त शाखाबाट व्यवस्थित हुनेछन । पालिकाले प्लाष्टिकजन्य वस्तुहरुको प्रयोगलाई निरुत्साहित गर्दै विस्तारै प्लाष्टिकमुक्त गाउँपालिका निर्माण गर्ने लक्ष्य लिएको छ । पानीका मुहानहरुको संरक्षण र जग्गाहरुको वर्गीकरण गर्ने कार्यलाई पालिकाले प्रमुख प्राथमिकताका साथ अघि सारेको छ ।
६० वर्षमाथीका जेष्ठ नागरिक र महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई आँखा उपचार पालिकाले निःशुल्क गर्ने भएको छ । त्यस्तै, पालिकाले प्रसुती सेवा लिन जाँदा र फर्कदा लाग्ने यातायात खर्चमा नेपाल सरकारले दिएको यातायात सुविधामा थप रकम उपलव्ध गराउने भएको छ ।
गाउँ सभाको १८ औं अधिवेशनको पहिलो बैठकमा आर्थिक वर्ष२०८२/०८३ को नीति तथा कार्यक्रम लगायत ९ वटा कार्यसूचीहरु पेस भई सर्वसम्मतरुपमा पारित गर्दै सम्पन्न भएको हो।
गाउँ सभामा उपाध्यक्ष प्रमोद पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, वडा अध्यक्ष सभाका सदस्यहरु, शाखा प्रमुख, कर्मचारी, पत्रकार लगायत उपस्थिति रहेको थियो ।




S.K. Creative Media Group