प्युठान । जिल्लाको झिमरुक गाउँपालिकाको यस आर्थिक वर्षमा सञ्चालित विकास योजनाको भौतिक प्रगति सहित समयमै काम सम्पन्न गर्ने उदेश्यका साथ योजनाको पछिल्लो अवस्था वारे निगरानी शुरु गरिएको छ । मंगलबार गाउँपालिकाको योजना अनुगमन समितिले विभिन्न वडामा सञ्चालित योजनाहरूको अनुगमन गरेको हो।
विकास योजना समयमै सम्पन्न गर्न सम्झौता पश्चात के कति काम हुदै छ र निर्माण समितिले कस्तो काम गदैछ भन्ने वारेमा योजनाहरुको अनुगमन गरिएको पालिका स्तरीय अनुगमन समितिका संयोजक प्रमोद पोख्रेलले जानकारी दिनुभयो ।
गाउँपालिकाले विकास निर्माण कार्यलाई प्रभावकारी बनाउन अनुगमन प्रक्रियालाई निरन्तरता दिने तथा अझ व्यवस्थित बनाउदै लैजाने उहाँले बताउनुभयो । अनुगमनका क्रममा योजनाको डिजाइन र लागत अनुसार काम भएनभएको गुणस्तरीय सामाग्री प्रयोग तथा योजनाको समग्र प्रगति बारे अनुगमन गरि सल्लाह सुझाव दिएको संयोजक पोख्रेलले बताउनुभयो ।
गाउँपालिका वडा नम्बर ३, ४, ५, ६ र ७ का ठुला तथा साना योजनाहरुको अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवालले जानकारी दिनुभयो। उहाँका अनुसार अनुगमन क्रममा जिम्मा पाएको उपभोक्ता समिति र निर्माण कम्पनीलाई निर्माणका क्रममा आईपरेका समस्या बारे गाउँपालिकालाई जानकारी दिन र समस्याको समाधान सहित योजना समयमै सम्पन्न गर्न अनुरोध गरिएको छ । काम सम्पन्न भएका तथा काम शुरु भएका योजनाको समग्र पक्षको अवस्था बारे जानकारी लिएको उहाँले बताउनुभयो ।
समितिले आर्थिक वर्ष २०८१/०८२ मा निर्माण हुँदै गरेका तथा सम्पन्न भएका योजनाहरूको गुणस्तर, प्रगति तथा प्रभावकारिता मूल्यांकन गर्दै आवश्यक सुधारका लागि सुझाव सल्लाह दिएको इन्जिनियर अशोक जिसीले बताउनुभयो ।
अनुगमन टोलीमा गाउँपालिकाको उपाध्यक्ष तथा अनुगमन समितिकी संयोजक प्रमोद पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवाल, इन्जिनियर अशोक जिसी, योजना शाखा प्रमुख यामला पोख्रेल, सव-इन्जिनियर नगेन्द्र आचार्य, सम्बन्धित वडाका वडा अध्यक्ष, वडा प्रविधिक लगायत स्थानीय उपभोक्ताहरू सहभागीता रहेको थियो ।



S.K. Creative Media Group