दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनअपेक्षा अनुसार सडक निर्माण र सुधारका क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।
मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसिए-नेपाल) ले मंगलबार मुख्यन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरेको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले भालुबाङदेखि लमहीसम्म सवारी साधनको चाप बढ्दै जाँदा दुर्घटनाको जोखिम समेत बढेको उल्लेख गर्नुभयो । उहाँले फराकिलो सडक, व्यवस्थित बस स्टेसन र सुरक्षित सडक पेटी निर्माणलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभयो ।
‘जनअपेक्षा अनुसार के-के क्षेत्रमा सुधार गर्न सकिन्छ, त्यसमा ध्यान दिएर काम गर्नुपर्ने छ,’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘सडक सुधार र निर्माणको काम निर्धारित समयभित्र सम्पन्न गर्न विशेष ध्यान दिनु आवश्यक छ ।’
उक्त कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने तथा प्रदेश सभा सदस्यहरूको सहभागिता रहेको थियो ।
एमसिए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टले संस्थाले विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार धानखोला-लमही ४० किलोमिटर सडक खण्डमा आधुनिक प्रविधि प्रयोग गरी स्तरोन्नति कार्य अगाडि बढाइएको छ ।
एमसिए-नेपालका अनुसार उक्त सडक खण्डको विस्तृत सर्वेक्षण कार्य सम्पन्न भइसकेको छ भने निर्माण कम्पनीलाई कार्यस्थलमा परिचालन गरिसकिएको छ । वातावरणीय, सामाजिक, स्वास्थ्य तथा सुरक्षण व्यवस्थापन योजना स्वीकृतिको प्रक्रियामा रहेको र स्वीकृति पश्चात् निर्माण कार्यले गति लिने जनाइएको छ ।
यसैबीच, २०८३ साल वैशाख १६ गते धानखोला-लमही सडक स्तरोन्नति कार्यको औपचारिक शुभारम्भ गर्ने तयारी गरिएको छ ।



S.K. Creative Media Group