प्युठान । तीन जिल्लाको संगम स्थल सौतामारेमा सिमा स्तम्भ बन्ने भएको छ । प्युठानको झिमरुक गाउँपालिका, गुल्मीको मदाने गाउँपालिका र अर्घाखाँचीको मालारानी गाउँपालिकाको संयुक्त लगानीमा तीन जिल्लाको संगम स्थल सौतामारेमा सिमा स्तम्भ बनाउन लागिएको हो ।

मंगलबार सिमा स्तम्भ निर्माण स्थल सौतामारेमा झिमरुक मदाने र मालारानी तीन गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर, जनप्रतिनिधि र स्थानीयको उपस्थितिमा स्थलगत अनुगमन तथा छलफल गरिएको थियो ।

चालु आर्थिक वर्षबाट नै काम सुरु गर्ने गरि तीन पालिकाको संयुक्त लगानीमा सिमा स्तम्भ निर्माणको काम अगाडि बढाउने झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो ।

चालू आर्थिक वर्षमा प्रति पालिकाले ८ लाखका दरले २४ लाख बजेट बिनियोजन भएको उहाँले जानकारी दिनुभयो । प्राविधिक लागतका आधारमा बजेट व्यवस्थापन गर्दै जाने गरि काम सुरु गर्न लागिएको उहाँको भनाइ छ ।

प्राविधिक लागतमा यो बजेटको आकार बढ्न पनि सक्ने सम्भावना भएकोले उक्त बजेट समेत तिनै पालिकाले व्यहोर्ने गरि सहमति भएको अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।

तीन पालिकाका इन्जिनियर टोलिले ७ दिन भित्र स्तम्भको नक्सा डिजाइन, लागत अनुमान सहितको प्राविधिक प्रतिबेदन तयार गर्न जिम्मा दिएको मदाने गाउँपालिका उपाध्यक्ष सरिता कुँवरले जानकारी दिनुभयो । प्राविधिक रिपोर्ट आएपछि तीन पालिका बसेर छलफल गरेर निर्माणकार्यको सबै प्रक्रिया अगाडि बढाइने उपाध्यक्ष कुँवरले बताउनुभयो ।

तीन जिल्लामा पर्ने गरि तीन पिलर अत्याधुनिक प्रविधिमा निर्माण गरिने गरि तीन पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रशासकीय अधिकृत र इन्जिनियर समेतको छलफलको निष्कर्ष सहित अगाडि बढ्ने सहमति भएको छ ।

स्थलगत अनुगमनका क्रममा झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवाल, इन्जिनियर अशोक जिसी, प्राविधिक वासुदेव गिरीको उपस्थिति थियो । गुल्मीको मदाने गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँवर, उपाध्यक्ष सरिता कुँवर, प्रमुख प्रशासकीय अधिकृत भिमार्जुन भुषाल, सब-इन्जिनियर छैटौं दिपक केसी लगायत उपस्थिति रहेको थियो ।

त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका अध्यक्ष दल बहादुर भट्टराई, उपाध्यक्ष खिमा पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत गोबिन्द भट्टराई, इन्जिनियर शिव रोका, सौतामारे सिमानाका वडा अध्यक्ष, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय