दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको बजेट प्रदेशको वास्तविक अवस्था अनुसार तयार गरिने बताउनुभएको छ ।
सोमबार राप्ती उपत्यका (देउखुरी) मा आयोजित संसदीय बजेट कार्यालयसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले बजेटलाई यथार्थपरक र कार्यान्वयनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।‘हाम्रो अवस्था जे छ, त्यही आधारमा बजेट ल्याउँछौं । अघिल्लो वर्ष प्रयास गरे पनि प्राविधिक कारणले त्रुटि भयो, अबको बजेट वास्तविकतामा आधारित हुनेछ,’ मुख्यमन्त्री आचार्यले भन्नुभयो ।
उहाँले आयोजना बैंकमार्फत सिफारिस भएका योजनामात्रै बजेटमा समावेश गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । योजना छनोटमा प्रणालीगत सुधार आवश्यक रहेको उल्लेख गर्दै उहाँले योजना बैंकमार्फत योजना छनोट गर्ने परिपाटी विकास गरिने बताउनुभयो ।
कार्यक्रममा सभामुख तुलाराम घर्तीमगरले बजेट तर्जुमा प्रक्रियालाई वस्तुगत र प्रभावकारी बनाउन पहल भइरहेको बताउनुभयो । प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगर, उपसचिव लोकमणी पाण्डे तथा अर्थशास्त्री एवं पूर्व योजना आयोग सदस्य डा. सुदनकुमार वलीले बजेट प्रणाली, चुनौती र सुधारका उपायबारे प्रस्तुति दिनुभएको थियो ।
छलफलमा संसदीय बजेट कार्यालय (पिबिओ) स्थापना आवश्यक रहेकोमा जोड दिइएको छ । बजेटको भाषा, संरचना, प्रभाव र औचित्य बुझ्न प्रदेश सभा सदस्यलाई सहयोग गर्ने संयन्त्रका रूपमा (पिओबी) लाई प्रदेशमा स्थापना गर्नुपर्नेमा जोड दिइएको हो ।
कार्यक्रममा बजेट विश्लेषण तथा निगरानी संयन्त्रलाई संस्थागत गर्ने, वित्तीय पारदर्शिता र उत्तरदायित्व सुदृढ गर्ने, बजेट अनुशासन सुधार गर्ने जस्ता नीतिगत सुझावहरू प्रस्तुत गरिएको थियो ।
साथै लैङ्गिक तथा सामाजिक समावेशीता, जलवायु उत्तरदायित्व, वित्तीय समन्वय, तथ्याङ्क प्रणाली तथा बजेट साक्षरता अभिवृद्धिमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ । सभामुख तुलाराम घर्तीमगरको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य उपसभामुख मेनुका खाँड केसीले व्यक्त गर्नुभएको थियो । सहजीकरण उपसचिव लोकमणी पाण्डेले गर्नुभएको थियो ।



S.K. Creative Media Group