प्यूठान । गौमुखी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२।०८३ को सार्वजनिक सेवा प्रवाह र कार्यसम्पादन सम्वन्धी वडा स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम शुरु भएको छ । पालिकाका सवै वडामा सार्वजनिक सुनुवाई गर्ने गरि मंगलबार ४ नम्वर वडा कार्यालय पुँजाबाट शुरु भएको हो ।

गौमुखी गाउँपालिकाको आयोजना तथा बागेश्वरी अशल शासन क्लव (बास नेपाल) जिल्ला शाखा प्यूठानको सहजीकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । गाउँपालिकाको वार्षिक कार्यक्रम अन्र्तगत वडा स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ । वडा तहबाट प्राप्त गुनासा, सुझाव, जिज्ञासा, विकास निर्माणको अवस्थालाई केन्द्रित गरेर पालिका स्तरीय सार्वजनिक सुनुवाई गरिने गाउँपालिकाले जनाएको छ ।

मंगलबार पुँजामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा निःशुल्क शिक्षाको सवाल, खानेपानी, मोटरबाटो, योजनाको प्राथमिकीकरण, कृषि तथा पशु सेवाका सवाल लगायत विषयमा सहभागीले प्रश्न राखेका थिए । वडा सचिव नैनसिंह जोशीले वडाले श्रावणदेखि हालसम्म सम्पन्न गरेका सेवा प्रवाह, विकास निर्माणका योजना, राजश्व संकलनको विषयमा प्रस्तुती गर्नुभएको थियो ।

उठेका सवालमा वडा अध्यक्ष धनिराम सुनार सहित वडा सदस्य र वडा सचिवले जवाफ दिनुभएको थियो । वडा अध्यक्ष सुनारले वडाको सेवा प्रवाहलाई प्रभावकारी बनाउन निरन्तर क्रियाशिल रहेको बताउनुभयो । उहाँले सिमित बजेटका कारण वडाले चाहे अनुसारको विकास निर्माणका काम पुरा गर्न नसकेको बताउँदै गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारसम्म योजना कार्यान्वयनका लागि पहल गर्दै आएको बताउनुभयो ।
कार्यक्रमको सहजीकरण बास नेपालका केन्द्रीय सदस्य जुमान सिंह केसी र जिल्ला शाखा अध्यक्ष सुजल श्रेष्ठले गर्नुभएको थियो । बुधबार वडा नम्वर ३ रजवारा र वडा नम्वर ६ लिवाङमा सार्वजनिक सुनुवाई कार्यक्रम हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय