प्युठान । नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएसँगै झिमरुक गाउँपालिकाले गाउँसभाबाट स्वीकृत भएका ठूला विकास आयोजना कार्यान्वयन गर्ने तयारी गरेको छ। योजनाको ठेक्का प्रक्रिया समयमै अघि बढाउने उद्देश्यका साथ गाउँपालिकाले पहिलो चरणमा ठेक्कामार्फत सञ्चालन हुने आयोजनाको विस्तृत सर्भे तथा लागत अनुमान तयार गर्ने काम सुरु गरेको हो।
गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीका अनुसार विगतका वर्षमा ठेक्का प्रक्रिया ढिलो हुँदा निर्माण कार्यसमेत प्रभावित हुने गरेको अनुभवका आधारमा यस वर्ष आर्थिक वर्षको सुरुदेखि नै प्राविधिक टोली परिचालन गरिएको हो। “समयमै लागत अनुमान तयार गरी ठेक्का प्रक्रिया अघि बढाउँदा निर्माण कार्य पनि तोकिएको समयभित्र सम्पन्न गर्न सहज हुन्छ,” उहाँले भन्नुभयो।
पहिलो चरणमा प्राविधिक टोलीले बाग्दुला–बतासेडाँडा–मच्छी–लामासेरा–झिमरुक गाउँपालिका पहुँचमार्ग अन्तर्गत घुम्मेठाटी–ज्यामुरखोला–मच्छी खण्ड कालोपत्रका लागि विस्तृत सर्भे सुरु गरेको छ। सर्भेपछि लागत अनुमान तयार गरी ठेक्का आह्वान गरिने गाउँपालिकाले जनाएको छ।
पालिकाको पुर्वाधार विकास तथा भबन नियमन शाखा प्रमुख इन्जिनियर अशोक जिसीका अनुसार उक्त सडकको स्तरोन्नति आर्थिक वर्ष २०८१/०८२ देखि निरन्तर भइरहेको छ। चालु आर्थिक वर्षमा बेस, सबबेस तथा अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिनुका साथै आवश्यक नाली, कल्भर्ट र अन्य सडक संरचना निर्माण गरिनेछ।
आर्थिक वर्ष २०८२/०८३ मा समपूरक अनुदानअन्तर्गत उक्त सडकका लागि ९ करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। सो बजेटबाट बतासेडाँडा–घुम्मेठाटी खण्डमा सबबेस तथा विभिन्न संरचना निर्माणको काम जारी छ। चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट कालोपत्रका लागि ठेक्का प्रक्रिया अघि बढाउन आवश्यक सर्भे भइरहेको इन्जिनियर जिसीले जानकारी दिनुभयो। गाउँपालिकाले आगामी माघ महिनाभित्र कालोपत्र सम्पन्न गर्ने लक्ष्य लिएको छ। निर्माणको जिम्मेवारी हरियाली स्वर्गद्वारी महाप्रभु ओसन जेभिले लिएको छ।
पछिल्ला वर्षहरूमा संघ, प्रदेश र स्थानीय तहको संयुक्त लगानीमा यस सडकको स्तरोन्नति अघि बढाइएको छ। लामो समयसम्म अलपत्र रहेको बाग्दुला–भिमगिठे सडक अहिले निर्माणको गतिमा अघि बढ्न थालेपछि स्थानीयवासीमा सहज र सुरक्षित यातायातको अपेक्षा बढेको छ।



S.K. Creative Media Group