प्यूठान । झिमरुक गाउँपालिकाले अविरल वर्षाका कारण भएको क्षतिको अवस्था एकिन गर्न पालिकास्तरीय अनुगमन समिति गठन गरेको छ। बुधबार पालिकाको सभाहलमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले अविरल वर्षा, बाढी र पहिरोको कारण आंशिक वा पुर्ण क्षति भएका घरगोठको स्थलगत अनुगम गरि तथ्यपुर्ण प्रतिबेदन तयार गर्ने गरी अनुगमन समिति गठन गरिएको हो ।
अनुगमन समितिमा गाउँपालिकामा रहेका विभिन्न विषयगत समितिका संयोजकहरु ६ जना, प्राविधिक कर्मचारी २ जना, रेडक्रस, प्रहरी समेत रहेको अनुगमन समिति गठन गरिएको पालिकाले जनाएको छ।
गाउँपालिकामा सम्पन्न विपद् व्यवस्थापन समितिको बैठकले गत असोज ८ गतेदेखि परेको अविरल वर्षाका कारण घर, गोठ, विद्यालय, पशुचौपाया र अन्नबालीमा पुगेको क्षतिको अवस्थाको बारेमा स्थलगत अध्ययन गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक पितबहादुर महतरा क्षेत्रीले बताउनुभयो।
समितिले सबै वडामा भएको भौतिक तथा अन्य क्षतिको अनुगमन गरी अध्ययन प्रतिवेदन पेस गर्नेछ। साथै, मनसुनजन्य विपद्को जोखिममा रहेका घरपरिवारको अवस्था र लगत तयार गरिने विपद् व्यवस्थापन समितिका संयोजक महतरा क्षेत्रीले जानकारी दिनुभयो।
उहाँका अनुसार वर्षाको कारण क्षति भएका घरगोठको सुरक्षाको लागि सबै वडामा १ सय १७ थान त्रिपाल वितरण गरिएको छ । अन्य क्षतिपूर्तिका लागि अवस्था अनुगमन समितिको प्रतिवेदनअनुसार अगाडि बढ्ने योजना सुनाउनुभयो ।
गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीको अध्यक्षतामा बसेको बैठकमा निमित्त प्रमुख प्रशासकीय अधिकृत विकास केसी, इन्जिनियर अशोक जिसी, वडा अध्यक्ष जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, प्रहरी र रेडक्रसका प्रतिनिधि लगायतको सहभागिता थियो।

S.K. Creative Media Group