प्यूठान । जिल्लाको झिमरुक गाउँपालिकाले मच्छी र ढाँडा बजारमा अनुगमन गरी म्याद गुज्रेका विभिन्न उपभोग्य सामग्री बरामद गरेर नष्ट गरेको छ। सोमबार उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै खाद्यान्न, किराना, औषधि पसल तथा होटल–रेस्टुरेन्टमा अनुगमन गरिएको हो।

गाउँपालिकाले दुई टोली बनाएर मच्छी र ढाँडा बजारमा अनुगमन गरेको थियो। ढाँडा बजारमा आर्थिक प्रशासन शाखा प्रमुख अरविन्द महत र मच्छी बजारमा पशुशाखा प्रमुख भोजराज पाण्डेको अगुवाइमा स्थानीय बजारअनुगमन गरिएको हो। टोलीले व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न र उपभोक्ताको स्वास्थ्यमा खेलबाड नगर्न सचेत गराएको जनाएको छ।

अनुगमनका क्रममा दालमोट, ह्यण्डप्लस, हार्पिक, खुर्सानी, सस र चियापत्तीलगायत म्याद गुज्रेका सामग्री बरामद गरिएको महतले जानकारी दिनुभयो।

व्यवसाय दर्ता तथा नवीकरण, मूल्यसूची र नापतौलको उचित व्यवस्था, सुर्तीजन्य पदार्थ र खाद्यान्न छुट्टाछुट्टै राख्ने तथा खरिद–बिक्री गर्दा बिल लिने–दिने विषयमा समेत जानकारी गराइएको महतले बताउनुभयो।

बरामद गरिएका सामग्री प्रहरी, उद्योग वाणिज्य संघका प्रतिनिधि, व्यापारी र स्थानीयको रोहवरमा नष्ट गरिएको पशु शाखा प्रमुख पाण्डेले जानकारी दिनुभयो। चाडपर्वका बेला उपभोक्ता ठगिन सक्ने भएकाले बजार अनुगमनलाई तीव्रता दिइएको उहाँले बताउनुभयो।

बजार अनुगमन टोलीमा प्रहरी, उद्योग वाणिज्य संघका प्रतिनिधि र गाउँपालिकाका कर्मचारी, स्थानीय व्यापारी लगायतको सहभागी थियो। बजारलाई उपभोक्तामैत्री बनाउन नियमित अनुगमन आवश्यक रहेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय