हेटौँडा । हेटौँडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देलले अटिजम प्रभावित बालबालिकाका लागि विशेष सुविधायुक्त अस्पतालसहितको विद्यालय आवश्यक रहेको बताउनुभएको छ।
सेन्टर फर अटिजम, मकवानपुरको चौथो साधारणसभाको उद्घाटन गर्दै उहाँले अटिजम कुनै एउटा परिवारको मात्र नभई राष्ट्रकै साझा समस्या भएकाले राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभयो।
उहाँले अटिजम प्रभावित बालबालिकाको आवश्यकता सम्बोधन गर्न तीनै तहका सरकारले समन्वय गरी विशेष विद्यालय सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। परिवारको जिम्मेवारीसँगै राज्यले पनि उनीहरूको शिक्षा, स्वास्थ्य र हेरचाहमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।
सेन्टरका अध्यक्ष हरिकृष्ण मैनालीको अध्यक्षतामा सम्पन्न साधारणसभामा उपाध्यक्ष शेखर थपलियाले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष निसला श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। दुवै प्रतिवेदन सभाबाट पारित भएको सचिव अस्मिता कालिकाले जानकारी दिनुभयो।
सेन्टर फर अटिजम, मकवानपुरले हाल करिब ४० जना अटिजम भएका बालबालिकालाई सेवा प्रदान गर्दै आएको छ । साधारणसभामा सेन्टरका संरक्षक बोलबहादुर कार्की र रामजी थपलियासहित सदस्यहरूको उपस्थिति थियो।

S.K. Creative Media Group