काठमाडौं । आज नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवस । मधुमेह रोगबारे जनचेतना अभिवृद्धि गर्ने, जोखिम न्यूनीकरण गर्ने तथा यसको रोकथाम, पहिचान र उपचारमा पहुँच बढाउने उद्देश्यले विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
प्रत्येक वर्ष नोभेम्बर १४ मा मनाइने यस दिवसले मधुमेहसम्बन्धी जोखिम, यसको असर र नियन्त्रणका उपायबारे जनचेतना फैलाउने लक्ष्य राखेको छ ।
पछिल्लो एक दशकमा उच्च आय भएका मुलुकको तुलनामा न्यून तथा मध्यम आय भएका मुलुकमा मधुमेहको प्रकोप तीव्र गतिमा बढेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । बढी तौल र मोटोपना मधुमेह बढ्नुका प्रमुख कारणमध्ये रहेका छन् ।
मधुमेह अन्धोपना, मिर्गौला फेल हुने, हृदयाघात, पक्षाघात तथा हातखुट्टा काट्नुपर्ने अवस्थासम्म निम्त्याउन सक्ने गम्भीर स्वास्थ्य समस्या हो । स्वस्थ खानपान, नियमित शारीरिक व्यायाम, तौल नियन्त्रण तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने बानीले टाइप–२ मधुमेहको जोखिम कम गर्न सकिन्छ ।
चिकित्सकहरूका अनुसार समयमै रोग पहिचान, नियमित स्वास्थ्य परीक्षण, औषधोपचार र जीवनशैलीमा सुधार गर्न सके मधुमेहका गम्भीर जटिलता रोक्न तथा न्यूनीकरण गर्न सकिन्छ ।
मधुमेह रोग विशेषज्ञ डा. विनय भट्टराईले मधुमेहबाट बच्न स्वस्थ जीवनशैली अपनाउन आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार टाइप–१ मधुमेह छिटो विकसित हुन सक्छ भने टाइप–२ मधुमेह विस्तारै विकसित हुने र सुरुको अवस्थामा स्पष्ट लक्षणसमेत नदेखिन सक्छ ।
उहाँ भन्नुहुन्छ, “मोटोपना भएका व्यक्ति, परिवारमा मधुमेहको इतिहास भएका व्यक्ति तथा कोलेस्ट्रोल उच्च भएका व्यक्तिले नियमित रूपमा मधुमेहको परीक्षण गराइरहनुपर्छ । ३५ वर्ष उमेर पुगेपछि सबैले नियमित रूपमा मधुमेहको परीक्षण गराउनु राम्रो हुन्छ ।”
मधुमेहको जोखिम समयमै पहिचान गरी नियमित स्वास्थ्य परीक्षण र चिकित्सकको सल्लाहअनुसार उपचार गर्न सके रोगलाई नियन्त्रणमा राख्न सकिन्छ । त्यसैले मधुमेहबाट बच्न र यसको जोखिम कम गर्न स्वस्थ खानपान, नियमित व्यायाम र अनुशासित जीवनशैली अपनाउनु आवश्यक छ ।


S.K. Creative Media Group