प्युठान । झिमरुक गाउँपालिका–६, दहखोलास्थित दशनामी महन्त गिरीहरूले पुजापाठ गर्ने नवनिर्मित सिद्ध मन्दिरको उद्घाटन गरिएको छ। शनिवार एक कार्यक्रमका बीच झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले मन्दिरको उद्घाटन गर्नुभएको हो।

उद्घाटन समारोहमा अध्यक्ष महतरा क्षेत्रीले मन्दिर निर्माण तथा व्यवस्थापनमा सहयोग पुर्‍याउने दाताहरूको नाम समेटिएको शिलालेखसमेत अनावरण गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष महतरा क्षेत्रीले धार्मिक तथा सांस्कृतिक संरचनाले सामाजिक एकता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले दशनामी समुदायको सामूहिक एकताले आपसी भाइचारा र सहकार्यको भावना विकास गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।

सोही अवसरमा मन्दिर निर्माण तथा व्यवस्थापनमा आर्थिक तथा अन्य सहयोग गर्ने दाताहरूलाई सम्मान गरिएको थियो। त्यसैगरी ८४ वर्ष पूरा गर्नुभएका ज्येष्ठ नागरिक ओमादेवी गिरी, टंकु गिरी र नन्दलाल गिरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

दशनामी महन्त गिरीहरूको परम्परागत कुलपूजा सम्पन्न

मन्दिर उद्घाटनसँगै दहखोलाका दशनामी महन्त गिरीहरूको
परम्परागत कुलपूजा पनि विधिपूर्वक सम्पन्न भएको छ। कुलपूजाका अवसरमा नियमित पूजाआजा, लिङ्गो फेर्नेलगायत धार्मिक विधि सम्पन्न गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

यस कुलपूजाको विशेष पक्ष पशुबलि नदिने परम्परा हो। हिंसा र पशुहत्याबाट टाढा रही शान्तिको कामना गर्ने धार्मिक मान्यताअनुसार यहाँको कुलपूजामा पशुबलि नदिने परम्परा रहँदै आएको छ।

पूजाआजा तथा धार्मिक विधि सम्पन्न भएपछि हलुवा, खिर, रोटी, तरकारी, अचार र दहीलगायतका परिकार प्रसादका रूपमा वितरण गरिएको थियो। कार्यक्रममा सहभागी स्थानीयवासी, पाहुना, श्रद्धालु भक्तजन तथा दशनामी महन्त गिरी परिवारका सदस्यहरूले प्रसाद ग्रहण गरेका थिए।

कार्यक्रममा कृष्ण गिरी र शैलेन्द्र गिरीले दशनामी समुदायको ऐतिहासिक पृष्ठभूमि, परम्परा तथा भावी योजनाका विषयमा मन्तव्य राख्नुभएको थियो। उहाँहरुले आफ्नो परम्परागत संस्कृतिको जगेर्ना गर्दै आपसी एकता सद्भाव कायम गरि दशनामीहरुको मौजुदा इतिहास वंशावलीको खोज तथा लिपिवद्ध गर्नुपर्ने धारण राख्नुभयो ।

मन्दिर उद्घाटन तथा कुलपूजा कार्यक्रमले धार्मिक आस्था, सांस्कृतिक परम्पराको संरक्षण र दशनामी समुदायबीचको आपसी एकतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा झिमरुक गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष धनबहादुर पुन, वडा नम्बर ५ का वडाध्यक्ष दधिराम पोख्रेल, वडा सदस्य मित्रु गिरी, हेमराज भट्टराईलगायत पाहुना, श्रद्धालु भक्तजन तथा दशनामी महन्त गिरी परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो।

सिद्ध मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदम गिरीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत समितिका सदस्य विष्णु गिरीले गर्नुभएको थियो भने सञ्चालन भीमसेन गिरीले गर्नुभएको थियो। पुजापाठ तथा प्रसाद ग्रहण कार्यक्रम सकिएपछि भौलो खेलेर रमाइलो समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय