प्यूठान । झिमरुक गाउँपालिकामा स्वास्थ्य क्षेत्रसहित स्थानीय तहका योजना तथा कार्यक्रमलाई लैङ्गिक समानता र सामाजिक समावेशीकरणमैत्री बनाउने विषयमा छलफल भएको छ ।

गाउँपालिकाका कार्यवाहक अध्यक्ष प्रमोद पोख्रेलको अध्यक्षतामा सम्पन्न स्थानीय तह स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (GESI) सम्बन्धी स्थानीय समन्वय समितिको बैठकमा समावेशी विकास र समानुपातिक सहभागिताका विषयमा छलफल गरिएको हो ।

बैठकमा पालिकाभित्र योजना निर्माण, महिला तथा बालबालिका र अन्य विकासका क्षेत्रमा सबै वर्ग, समुदाय, लिङ्ग तथा पछाडि पारिएका समूहको समानुपातिक सहभागिता सुनिश्चित गर्दै समावेशी ढङ्गले काम गर्नुपर्ने विषय उठाइएको थियो ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विकास केसीले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका दृष्टिले समिति गठन गरी त्यसलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने बताउनुभयो ।

उहाँका अनुसार उक्त समितिले स्थानीयस्तरमा निर्माण हुने योजना तथा कार्यक्रमको कार्यान्वयनमा सहजीकरण गर्नेछ। यसबाट योजना तथा कार्यक्रमलाई थप प्रभावकारी, समावेशी र उपलब्धिमूलक बनाउन सहयोग पुग्ने उहाँले बताउनुभयो ।

त्यस्तै, स्वास्थ्य सेवामा सबै वर्ग, समुदाय र लिङ्गका नागरिकको समान पहुँच तथा सहभागिता सुनिश्चित गर्नुपर्नेमा बैठकले जोड दिएको कार्यवाहक अध्यक्ष पोख्रेलले बताउनुभयो । उहाँले यस्ता समितिलाई क्रियाशिल बनाउदा हामिले लिएको नीति कार्यक्रम र योजनालाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो ।

बैठकमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विकास केसी, विभिन्न शाखाका प्रमुख, इलाका प्रहरी कार्यालय मच्छीका प्रमुखलगायत गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय