​माया गिरी
नेपालीहरूको महान् चाडपर्वहरूको लामो बिदा र रमाइलो समयलाई भरपुर्ण उपयोग गर्दै अहिले बिदाई समेत गरिएको छ। चाडपर्वको बिदाइ सँगसँगै विद्यार्थीको लागी अब फेरि विद्यालयका घण्टीहरू गुञ्जने बेला आएको छ।

घरमा पाहुनापासाको चहलपहल, नृत्य, भैलो, सराय नाच, पिङको मज्जा, मीठा मीठा परिकार र रमाइलोले भरिएको लामो बिदा सकिएसँगै नानीबाबुहरू फेरि आफ्नो भविष्य निर्माणको शिक्षाको मन्दिरतर्फ फर्किने तयारीमा रहेका छन् ।

अबको यो समय केवल झोला बोकेर विद्यालय जाने मात्र पक्कै होइन, बिदा हुनुपुर्व बिद्यालयमा गुरुहरुले दिएको गृहकार्य गर्नु र अन्य परिक्षामा आफ्नो पढाइको तयारीमा जुट्नु हो ।

चाडपर्वको थकानलाई पन्छाएर बालबालिकालाई वास्तविक सिकाइ र संस्कारतर्फ डोर्‍याउने महत्त्वपूर्ण अवसर भएकोले अभिभावकले आफ्ना नानिबाबुहरु अहिले के गरिरहेका छन् भन्ने जानकारी पनि राख्नु निकै महत्त्वपूर्ण पाटोमा पर्छ ।
​
चाडपर्वको रमाइलोबाट डिजिटल कुलततिर
​चाडपर्वको समयमा बालबालिकाले पर्याप्त रमाइलो गर्ने अवसर भएको महसुस गर्ने गर्छन । जुन स्वाभाविक पनि हो। तर, लामो स्कुल बिदाका क्रममा धेरैजसो बालबालिकाको समय मोबाइलको सानो पर्दा भित्र सीमित बन्दै गएको पाइन्छ।

बालबालिकाहरु खासगरी बिदाको फुर्सदमा गेम खेल्ने र भिडियो हेर्ने बानीले उनीहरूलाई बिलासीको संसारमा मात्रै अल्झाएको छैन । बालबालिकाहरुको सिर्जनशीलता र पढ्ने बानीलाई समेत ओझेलमा पारेको छ।

अब नानीबाबुहरूलाई मोबाइलको सानो पर्दाबाट बाहिर निकालेर किताबका पानाहरूसँग जोड्नु अनिवार्य भएको छ। बालबालिकालाई मोबाइल चलाउन सिकाउनुभन्दा जीवनका मूल्य-मान्यता र यथार्थ बुझ्न सिकाउनु हामी सबै अभिभावकको पहिलो दायित्व हो।
​
घर र विद्यालयको सहकार्य: सफलताको आधार
​शिक्षा भनेको केवल किताबी ज्ञानमा सीमित छैन। भनिन्छ- “विद्यालयले ज्ञान दिन्छ, घरले संस्कार दिन्छ र अभिभावकको मायाले आत्मविश्वास बढाउँछ।” चाडपर्वको भागदौड र दिनभरिको व्यस्त जीवनशैलीले गर्दा अभिभावकहरूले आफ्ना छोराछोरीहरुलाई पर्याप्त समय दिन नपाएको यथार्थ हो। तर,बालबालिकाको यो कोमल उमेर र सिक्ने समय अनि यो बालापन फेरि कहिल्यै फर्केर आउँदैन।

त्यसैले, जति नै व्यस्त भए पनि दिनको केही समय आफ्ना नानीबाबुहरूसँग कुराकानी गर्नु, बस्नु, उनीहरूका कुरा सुन्नुपर्छ, चाडपर्व कस्तो भयो र स्कुलको पढाइ कस्तो चलिरहेको छ भनेर सोधपुछ गर्नु पर्छ। अभिभावकले दिएको यो सानो समय र मायाप्रेमले नै बालबालिकामा असीमित आत्मविश्वास र सकारात्मक ऊर्जा थपिदिने गर्छ।

पढाइ तिर भोलिदेखि नै नयाँ सुरुवात गरौं 

चाडपर्वका ति रमाइला दिनहरू सकिएको छ । रमाइलो क्रमश सम्झना बन्दै जाने नै हो । चाडपर्वले गर्दा बालबालिकालाई रमाइलो तिर नै ध्यान केन्द्रित गरेको हुन्छ । त्यो रमाइलो संसारबाट किताब, कापी र कलमको सामीप्यमा जोड्नु पर्ने अभिभावकहरुको मुख्य कर्तव्य हो । अब हरेक अभिभावकले भोलिदेखि नै आफ्ना नानीबाबुहरूलाई नियमित रूपमा विद्यालय पठाउने बाताबरण बनाउनु पर्ने दायित्व रहेको हुन्छ।

बालबालिकाहरूको मनलाई चाडपर्वको माहोलबाट बाहिर ल्याएर फेरि अध्ययनशील बनाउन अभिभावकको सक्रियता अति आवश्यक छ। हरेक बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा केवल शिक्षकको मात्र प्रयासले पुग्दैन, यसका लागि घर र विद्यालयको दरिलो हातेमालो अपरिहार्य हुन्छ।

हाम्रा नानीबाबुहरूलाई प्रविधिको दास होइन, सदुपयोग गर्दै सिर्जनशील, संस्कारयुक्त र सक्षम नागरिक बनाउने कार्यमा सम्पुर्ण सरकार, अभिभावक, शिक्षक, शिक्षिका, र विद्यार्थी बीच हातेमालो गर्नुपर्ने आवश्यकता आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय