बझाङ । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु भएकोमा खोजीका क्रममा थप एक बालिकाको शव फेला परेपछि मृतकको संख्या चार पुगेको हो।

सोमबार बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट बुङ्गल नगरपालिका–११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ह ७९९८ नम्बरको अटोको ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ। अटो सडकबाट करिब ९०० मिटर तल भिरमा खसेको थियो।

दुर्घटनामा परी बुङ्गल नगरपालिका–१० निवासी अन्दाजी ३५/४० वर्षीया राजमति महरा, १५/१६ वर्षीया तारा महरा, ५/६ वर्षीया डल्ली महरा र ४ वर्षीया रियास महराको मृत्यु भएको प्रहरीले जनाएको छ।

अटोमा चालकसहित ६ जना सवार रहेको खुलेको छ। सवारमध्ये सोही ठाउँका अन्दाजी १२/१३ वर्षीय विक्रम महरा सकुशल घरतर्फ गएको बुझिएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पुतलीलेकबाट प्रहरी सहायक हवल्दार उत्तम सिंह बोहराको कमाण्डमा चार जनाको टोली घटनास्थलमा खटिएको थियो। त्यसैगरी इलाका प्रहरी कार्यालय बुङ्गलबाट प्रहरी नायब निरीक्षक तेजबहादुर रावलको कमाण्डमा चार जना र जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाको कमाण्डमा सात जनाको टोलीसमेत उद्धार तथा अनुसन्धानका लागि परिचालन भएको थियो।

दुर्घटनामा संलग्न अटो चालक बुङ्गल नगरपालिका–११ निवासी २५ वर्षीय टेकबहादुर पातलीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय