प्यूठान । जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारीमा प्यागोडा शैलीको मन्दिर निर्माण गर्न थालिएको छ । स्वर्गद्वारी आश्रमले भक्तजनहरुको दान र सहयोगबाट मात्रै उक्त मन्दिर निर्माण गर्न लागेको हो ।

दशैंपछि निर्माण शुरु गर्ने गरि मन्दिर निर्माणको लागि भक्तजनबाट निःस्वार्थ सहयोगका लागि अपिल गरिएको स्वर्गद्वारी आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरि अधिकारीले जानकारी दिनुभयो । “पशुपतिनाथको जस्तै शैलीमा मन्दिर बनाउन लागिएको हो,” उहाँले भन्नुभयो, “काठैकाठको प्यागोडा शैलीको मन्दिर बन्नेछ ।” प्यागोडाशैलीको उक्त मन्दिर दुई तले छानो हुनेछ । चारैतर्फ मुख्य कलात्मक काष्ठद्वार, प्रत्येक टुँडाल र लकासीहरुमा भगवानका विभिन्न अवतार चित्राङ्कित काष्ठकलाको प्रयोग गरिने आश्रमले जनाएको छ ।

स्वर्गद्वारी महाप्रभु नारायण गौतम रोल्पाको रुन्टीगढीमा विक्रम सम्वत १९१६ श्रावण शुक्ल पक्ष पुत्रदा एकादशीमा जन्म भएको थियो । महाप्रभुले विक्रम सम्वत १९५२ बैशाख पूर्णिमा दिन स्वर्गद्वारीमा वेदको मन्त्रद्धारा अग्नी प्रज्वलित गरि अखण्ड महायज्ञ स्थापना गर्नुभएको थियो ।

स्वर्गद्धारीमा विशेष गरेर बैशाखे पूर्णिमा, गाई तिहारे औंशी, माघे संक्रान्तिमा विशेष मेला लाग्ने गर्दछ । स्वर्गद्वारीमा बाह्रै महिना पुजाआजा हुने गर्दछ । स्वर्गद्वारीमा भारतबाट धेरै भक्तजन आउने गर्दछन् । स्वर्गद्वारीमा वेद पाठशाला समेत रहेको छ । २ हजार १ सय मिटर उचाईमा रहेको स्वर्गद्वारी पुग्न पक्की सडक समेत निर्माण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय