प्यूठान । प्यूठानको गौमुखी क्याम्पस मच्छीमा स्वतन्त्र विद्यार्थी निर्वाचनमा उठाइएका उम्मेदारले अहिले विद्यार्थीहरुमा चर्चा पाएको छ ।
यो कन्या क्याम्पस होइन तर उम्मेदार सबै कन्या मात्रै छन् । सबै छात्रा उम्मेदवार रहेको नमुना टिम बनाएर अहिले अनेरास्ववियुले सबैको ध्यानाकर्षण गराएको छ ।

गौमुखी क्याम्पस मच्छी,प्युठानमा अनेरास्ववियुको तर्फबाट उम्मेदवार बनेका प्रत्यक्ष र समानुपातिक सबै पदमा छात्राहरुको मात्रै उम्मेदारी भएपछि अहिले सबैतिर चर्चामा छन् यहाँका उम्मेदारहरु । त्यसो त यहाँ यो संगठनबाट पुरुषहरु नभएका भने होइनन् तर नेतृत्वमा आउन पुरुषहरु तयार नभएपछि आफूहरु अगाडि सरेको प्रत्यासी उम्मेदारहरुले जनाएका छन् ।

प्युठानसँगै बाग्लुङ, गुल्मी, अर्घाखाँची, रोल्पा, रुकुमका विद्यार्थीहरुले अध्ययन गर्ने यो क्याम्पसमा धेरै छात्राहरु नै छन् । एजुकेशन र कमर्श पढाई हुने यहाँ अहिले ३६६ विद्यार्थी मतदाता रहेका छन् ।
बीबीएस दोस्रो वर्षमा अध्ययरत अबिना श्रेष्ठ अहिले यो प्यानलबाट कोषाध्यक्षको उम्मेदार हुनुहुन्छ । कलेजमा धेरै पुरुष साथीहरुले स्ववियुको नेतृत्वमा जान इच्छुक नभएकाले आफूहरुले टोली बनाएर अघि सरेको उहाँको भनाइ छ ।

‘हामीसँग पढ्ने धेरै पुरुष साथीहरु पनि हुनुहुन्छ तर उहाँहरुले नेतृत्वको लागि त्यति धेरै चासो देखाउनुभएन अनि हामीहरु बसेर अगाडि बढ्नुपर्छ भन्ने योजनाका साथ टोली बनाएका हौं, काम गर्न सकिन्छ, नयाँ सन्देश दिन सकिन्छ भन्ने हिम्मतका साथ मैदानमा आएका छौं’ उहाँले भन्नुभयो ।

बीबीएस तेस्रो वर्षमा अध्ययनरत गिता जिसी सचिव पदमा उम्मेदार हुनुहुन्छ । उहाँको पनि अबिनाकै जस्तै भनाइ छ । ‘महिलाहरु पनि नेतृत्वमा जान पाए केही नयाँ काम गर्नसक्छन् भन्ने उदाहरण देखाउन हामीले यो टोली बनाएका हौं, पक्कैपनि हामीलाई विद्यार्थी साथीहरुले सहयोग गर्नुहुनेछ’ उहाँले भन्नुभयो ।

बीएड तेस्रो वर्षमा अध्ययन गर्ने स्नेहा केसीले यो प्यानलको नेतृत्व गर्नुभएको छ । उहाँको प्रतिस्पर्धामा तीन ठूला संगठन नेविसंघ, क्रान्तिकारी र अनेरास्ववियु छैठौंको संयुक्त प्यानल बनेको छ ।

तुलनात्मक हिसाबले बलिया संगठनहरु एकातिर भएपनि आफूहरुको स्पष्ट अवधारणा भएकाले सहजै जित्ने दावी केसी नेतृत्वको प्यानलले गरेको छ । संयुक्त प्यानलको नेतृत्व प्रविन जिसीले गर्नुभएको छ । तर त्यो प्यानलमा पदाधिकारीमा महिलाहरु छैनन । ०६३ सालमा स्थापित यो क्याम्पसमा अहिले ३६६ मतदातामध्ये २९१ जना छात्रा र ७५ जना मात्रै छात्र रहेका छन ।

प्यूठानबाट संघीय सांसद बनेका नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्य थापाले सबै छात्रा उम्मेद्वार रहेको नमुना टिम भन्दै प्रशंसा गर्नुभएको छ । थापाले ॲाट र हिम्मत भएका विद्यार्थी नेतृहरू सम्मिलित स्नेहा केसी नेतृत्वको जुझारू टीमलाई सबैले सम्मान गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय