प्यूठान । जिल्लाको झिमरुक गाउँपालिकाले स्थानीय आरन ब्यवसायीको परम्परागत शिपलाई प्रबिधिसँग जोड्न हाते आरन पङखा वितरण गरेको छ । शुक्रबार गाउँपालिकाको ४ नम्बर वडा कार्यालयले एक कार्यक्रमका बीच आरन ब्यवसाय गर्दै आएका वाडाका २० जना आरन ब्यवसायीलाई अनुदानमा हाते आरन पङखा हस्तान्तरण गरिएको हो ।
झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले गाउँमा आरन ब्यवसाय गर्दै आएका ब्यवसायीलाई परम्परागत रुपमा गरिदै आएको आरन पेशालाई नयाँ प्रबिधि र सीपको बिकास गर्दै लैजानुपर्ने बताउनुभयो । गाउँघरमा अझै पनि परम्परागत रुपमा गरिदै आएको बालीघरे चलनलाई परिवर्तन गर्दै ब्यबसायिकरुपमा आत्मनिर्भर हुने गरी नयाँ तरिकाले आरन पेशालाई अगाडि बढाउनुपर्ने बताउनुभयो। गाउँमा ब्यवसायीले आफ्नो सिप र कलालाई प्रयोग गरेर उत्पादित बस्तु तथा सामनको बजारसम्म ल्याउने तर्फ लाग्नुपर्ने उपाध्यक्ष पोख्रेलले बताउनुभयो । त्यसो गर्न सकेमात्र पेशाबाट आत्मनिर्भर बन्न सकिने बताउनुभयो। ब्यवसायी आफ्नो पेशा प्रती सक्रिय भएर लाग्न सकेमात्र सफलता मिल्ने भएकोले मन वचन र कर्मशिल भएर लाग्न सुझाव दिनुभयो ।
यो कार्यक्रमबाट लक्षित वर्गका आरन ब्यवसायिले गर्दै आएको आरन पेशामा थोरै भएपनि सहयोग पुग्ने प्रमुख प्रशासकीय अधिकृत पवनकुमार शाहीले बताउनुभयो । बिकास भनेको भौतिक पुर्वाधार मात्र नभएर सामाजिक, आर्थिक र सीप बिकास पनि महत्त्वपूर्ण हुने भएकोले ब्यवसायीलाई फाइदा पुग्ने यस्ता कार्यक्रमलाई पालिकाले प्राथमिकता दिएको बताउनुभयो ।
चालू आर्थिक वर्षको लागि स्वीकृत सामाजिक बिकास कार्यक्रम अन्तर्गत परम्परागत रुपमा गरिदै आएको आरन पेशालाई आधुनिकिरण गर्दै थप पोत्साहन गर्न आरन हाते पङखा वितरण गरिएको झिमरुक-४,का वडा अध्यक्ष सिताराम पोख्रेलले बताउनुभयो । आरन ब्यवसायीका लागि आरन मेसिन खरिद वितरण कार्यक्रम शिर्षकमा १ लाख २० हजार रुपैंया बजेट विनियोजन गरिएको वडा अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।
आरन पङखा पाउँदा स्थानीय ७८ वर्षीय छविलाल बिक खुसी हुँदै सानै उमेरदेखि गर्दै आएको आरन पेशालाई थप ब्यवस्थित गर्ने बताउनुभयो ।
वडा अध्यक्ष सिताराम पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिती गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेल, बिशेष अथिती प्रमुख प्रशासकीय अधिकृत पवनकुमार शाही रहनुभएको थियो । कार्यपालिका सदस्य तुलसा केसीको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन वडा सचिव अर्जुन जिसीले गर्नुभएको थियो । कार्यक्रममा वडा सदस्य, आरन ब्यवसायी, वडाका अन्य कर्मचारी स्थानीय बुद्धिजीवी लगाएतको उपस्थिति रहेको थियो ।