प्युठान । प्युठान नगरपालिका वडा नम्वर ९ छेपानेका रविलाल रोका मगरले २० वर्षदेखी सुन्तला र कमला(मौषम)को खेती गर्दै आउनुभएको छ । ६ रोपनी क्षेत्रफल जग्गामा रहेका करीव तीन सय बोटमा वर्षेनी फल्ने सुन्तला र कमलाको विक्री गरेर नै उहाँको परिवारको गुजारा चलेको छ ।

“वार्षिक रुपमा कति आम्दानी हुन्छ भनेर लेखाजोखा राख्ने गरेको छैन,” रविलालले भन्नुभयो, “परिवारको खर्च यसैबाट चलेको छ ।” पकेट क्षेत्रको रुपमा रहेको यस क्षेत्रमा पछिल्लो समय खेती विस्तार हुँदै गएको उहाँ बताउनुहुन्छ । गाउँमा ३५ परिवारले सुन्तला र कमला खेती गर्ने गरेको उहाँको भनाई छ ।

सोही ठाउँकै जिना कुमारी घर्तिमगरको पनि बगैचामा २ सय बोट सुन्तला र कमला छन् । ४० वर्षअघि लगाएको बोटबाट वर्षेनी आयआर्जन भइरहेको उहाँको भनाई छ । उत्पादन भएका सुन्तला कमला किन्न ग्राहक गाउँमै आउने उहाँले बताउनुभयो । अहिले गाउँसम्म मोटरबाटो समेत पुगेको छ । जसले गर्दा व्यापारीहरु गाउँमा पुगेर खरिद गर्ने गर्दछन् ।

विक्री वितरणका लागि प्युठान नगरपालिकाले समेत सहयोग गर्ने गरेको छ । तिहारको बेलामा पालिका भित्र विभिन्न ठाउँमा लाग्ने मेलामा विक्री वितरणको लागि ढुवानीको व्यवस्था मिलाईदिने गरेको छ । प्युठान नगरपालिका–१० छेपानेमा मात्र होइन जिल्लाका धेरै ठाउँमा सुन्तला जातको फलफुल खेतीको राम्रो सम्भावना रहेको छ । झिमरुक गाउँपालिका–५ चुँधारा, झिमरुक गाउँपालिका–७ तुषारा, स्वर्गद्वारी नगरपालिका–२ धनवाङ सुन्तला खेतीका लागि पकेट क्षेत्र हुन ।

जिल्लामा दुई सय ७५ हेक्टर क्षेत्रफलमा सुन्तला र दुई सय १० हेक्टर क्षेत्रफलमा कमला खेती हुने गरेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानका निमित्त प्रमुख उमेशचन्द्र श्रेष्ठले बताउनुभयो । सुन्तला दुई हजार ३३५ मेट्रिकटन र कमला एक हजार २७५ मेट्रिकटन उत्पादन हुने गरेको श्रेष्ठले जानकारी दिनुभयो । यो वर्ष १७ हेक्टर क्षेत्रफलमा विस्तार गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय