प्युठान । प्युठानको झिमरुक गाउँपालिकाले अस्थायी तथा करार कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष योजनामा आबद्ध गराउने प्रक्रिया सुरु गरेको छ ।
गाउँ कार्यपालिकाको मंगलवार बसेको निर्णयले कर्मचारीहरुलाई कोषमा आवद्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो ।
पालिकाले कोषमा आवद्ध गराउने निर्णयपछि पालिकाभरी विभिन्न तहमा कार्यरत ४९ जना कर्मचारीहरु प्रत्यक्ष लाभांवित हुनेभएका छन् । उक्त कार्यक्रमका लागि गाउँपालिकाले वार्षिक करिव ३० लाख रुपैयाँ बजेट खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।
विभिन्न तहमा कार्यरत अस्थायी, करार गरी ४९ जना कर्मचारीका लागि गाउँपालिकाले मासिक १४ लाख ४० हजार ५ सय ४५ रुपैयाँ तलव भूक्तानी गर्दै आएको छ ।
‘वर्षौसम्म काम गरेका कर्मचारीहरु सेवा अवधिबाट निस्किदा रित्तो हात घर फर्कनुपर्ने अवस्था नहोस् भन्नका लागि कोषमा आवद्ध गराउने निर्णय गरेका हौं’,पालिका अध्यक्ष महतरा क्षेत्रीले भने,‘यो कार्यक्रम संचालन गर्नका लागि वार्षिक नीति, तथा कार्यक्रममा समावेश गरेका थियौं, यही महिनादेखि लागु गरेका छौं ।’ चालु आर्थिक वर्षमा पालिकाले करिव १२ लाख रुपैयाँ कोषमा जम्मा गर्नेगरी बजेटको व्यवस्था गरेको छ । उक्त निर्णयले झिमरुकमा वर्षौदेखि अस्थायी र करारमा कार्यरत कर्मचारीहरु उत्साहित भएका छन् ।
स्थानीय सरकारको करार सेवामा वर्षौंसम्म काम गरेर रित्तो हात घर फर्किने अवस्था नहोस् भनेर पालिकाले आफ्नो करारमा सेवारत कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष योजनामा आबद्ध गराउने निर्णय गरी प्रक्रिया सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवालले जानकारी दिनुभयो । यसले गर्दा कर्मचारीमध्ये उत्साह थपिएको बताउनुभयो ।



S.K. Creative Media Group