प्यूठान । प्यूठानमा राष्ट्रिय आर्थिक गणना २०८२ का लागि बुधबारदेखि गणना कार्य शुरु भएको छ । २३ जना गणक र ३ जना सुपरिवेक्षक आर्थिक गणनाका लागि जिल्लामा खटिएका छन ।
आर्थिक गणनाका लागि जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकामा पुगेर गणक र सुपरिवेक्षकहरुले स्थलगत तथ्यांक संकलन गर्ने जिल्ला आर्थिक गणना अधिकारी रोचक सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार वस्तु तथा सेवा उत्पादन गर्ने उद्योग, आर्थिक कारोवार गर्ने व्यापार, संघ संस्था व्यवसायिक प्रतिष्ठानको विवरण संकलन गरिनेछ ।
आर्थिक गतिविधिको वास्तविक अवस्था, स्वरुप तथा संरचना पहिचान गरी राष्ट्रिय अर्थतन्त्रसम्बन्धी तथ्यांक अद्यावधिक गर्नका लागि आर्थिक गणना सञ्चालन गरिएको हो । राष्ट्रिय तथ्यांक कार्यालयले दोस्रो पटक आर्थिक गणना सुरु गरेको हो । पहिलो आर्थिक गणना २०७५ मा गरिएको थियो । सम्पूर्ण उद्योग र व्यवसायको विवरण प्राप्त गर्न आधुनिक प्रयोग स्वरुप आर्थिक तथ्याङ्क लिनका लागि राष्ट्रिय आर्थिक गणना २०८२ गर्न लागिएको हो । यसमा नेपालस्तरीय औद्योगिक वर्गीकरणका २१ वटा खण्डमध्ये १८ वटा खण्डका आर्थिक क्रियाकलापलाई समेटिने छ । जसमध्ये खण्ड ए अन्तर्गत कृषि, वन तथा मत्स्यपालनअन्तर्गत दर्ता भएका मात्र प्रतिष्ठानलाई समेटिनेछ । गणना आगामी असार ७ गतेसम्म सञ्चालन हुनेछ ।



S.K. Creative Media Group