प्युठान । प्युठानको झिमरुक गाउँपालिकामा सम्भावित विपदजन्य घटना वन डढेलो, बाढी पहिरो नियन्त्रणका लागि गरिएका प्रयास र आगामी रणनीतिबारे छलफल गरिएको छ । सोमबार झिमरुक गाउँपालिका अन्तर्गत विपद व्यवस्थापन समितिको आयोजनामा भएको छलफल कार्यक्रममा विपद न्यूनीकरणमा आवस्यक कार्ययोजना बनाएर अगाडि बढ्ने तयारी गरिएको हो ।

विपद व्यवस्थापन समितिको छलफलमा पालिका भित्रका सामुदायिक बनका अध्यक्ष तथा प्रतिनिधि र सरोकारवाला बिच बन डढेलो सम्बन्धि बैशाख २१ गते वृहत् अन्तरक्रिया कार्यक्रम गर्ने छलफल भएको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो ।

त्यस्तै विपद पुर्व तयारी, प्रतिकार्य्य योजना, खुल्ला क्षेत्र निर्धारण, सुरक्षित आश्रय ब्यवस्थापन, हेलिप्याड, स्वयंसेवक परिचालन, जोखिम घरदुरी र परिवारलाई सुरक्षीत स्थानमा स्थानान्तरण, आपतकालीन कार्य संचालन केन्द व्यवस्थापन, कोष स्थापना गर्ने, जनचेतना अभियान चलाउने, एम्बुलेन्स व्यवस्थापन गर्ने, सम्भावित जोखिम घरधुरीको पहिचान गर्ने लगायतको विषयमा छलफल भएको अध्यक्ष महतरा क्षेत्रीले जानकारी दिनुभयो ।

पालिका भित्रका वडाका विभिन्न वन क्षेत्रमा जनचेतनामूलक कार्यक्रम, जोखिम क्षेत्रको पहिचान, निगरानी संयन्त्रको सुदृढीकरण तथा स्थानीय समुदायसँग समन्वय बढाउने काम गरिएको छ। विशेषगरी सामुदायिक वन उपभोक्ता समूहहरूसँग सहकार्य गर्दै डढेलो लाग्न सक्ने सम्भावित क्षेत्रहरूमा सचेतना फैलाउने, सरसफाइ गर्ने तथा आगो नियन्त्रणका लागि आवश्यक उपकरण तयारी अवस्थामा राखिएको जानकारी दिइयो।

वन क्षेत्रमा डढेलो लाग्नुका प्रमुख कारण मानवीय लापरबाही, अव्यवस्थित घाँस दाउरा संकलन, जथाभावी आगो बाल्ने प्रवृत्ति र मौसमीय प्रभाव रहेको उल्लेख गर्दै यसलाई न्यूनीकरण गर्न समुदायस्तरबाटै सजगता आवश्यक रहेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विकास केसीले बताउनुभयो ।

साथै, वन डढेलो नियन्त्रणका लागि स्थानीय तह, सुरक्षा निकाय, सामुदायिक वन समूह तथा सर्वसाधारणबीच सहकार्य अझै मजबुत बनाउनुपर्नेमा जोड दिइएको छ।

आगामी दिनमा तापक्रम बढ्दै जाने र सुख्खा मौसम लम्बिँदै जाने भएकाले डढेलोको जोखिम अझै उच्च रहने भन्दै जनतालाई उच्च सतर्कता अपनाउन समेत आग्रह गरिएको छ । यसका लागि वन क्षेत्रमा नियमित निगरानी, अग्नि रेखा निर्माण, द्रुत उद्धार टोली तयारी तथा आवश्यक उपकरण व्यवस्थापनलाई प्राथमिकता दिइने पालिकाले जानाएको छ ।

कार्यक्रममार्फत सर्वसाधारणलाई वन क्षेत्रमा जथाभावी आगो नबाल्न, डढेलो देखिएमा तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउन र वन संरक्षणमा सहयोग गर्न आग्रह गरिएको छ। वन संरक्षण र वातावरणीय सन्तुलन कायम राख्न वन डढेलो नियन्त्रण सबैको साझा जिम्मेवारी भएको सहभागीहरूले जोड दिएका छन्।

कार्यक्रममा वन डढेलो तथा अन्य सम्भावित विपदजन्य घटना नियन्त्रणका लागि सबै वडा वडामा सरोकारवाला बीच विशेष अभियान संचालन गर्ने गरि तयारीमा रहेको पालिकाले जनाएको छ ।

कार्यक्रममा सहभागीहरुले विगतका वर्षहरूमा देखिएका विपदजन्य चुनौतीहरूलाई मध्यनजर गर्दै यस वर्ष प्रारम्भिक चरणमै सचेतना र पूर्वतयारीका कामहरू प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने सुझाव दिएका थिए।

पालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत विकास केसी, विपद फोकल ब्यक्ति, शाखा प्रमुख, स्थानिय प्रहरी, संघ संस्थाका प्रतिनिधि लगायतकाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय