सागर रिजाल
प्यूठान । स्थानीय सञ्चारमाध्यमको प्रवर्द्धन र क्षमता विकासका लागि प्यूठानको ऐरावती गाउँपालिकाले सञ्चार नीति निर्माण गर्ने भएको छ। जिल्लाका स्थानीय तहमध्ये सञ्चार नीति बनाउन पहल गर्ने ऐरावती पहिलो गाउँपालिका बन्ने भएको हो।

बिहीबार चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले सञ्चार नीति निर्माणको तयारीबारे जानकारी दिनुभएको हो। उहाँले स्थानीय सरकारका गतिविधि जनतासम्म पुर्‍याउन र नागरिकका आवाज सम्बोधन गर्न सञ्चारमाध्यमसँग सहकार्य आवश्यक रहेको बताउनुभयो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरद गौतमले समृद्ध पालिका निर्माणमा निष्पक्ष सञ्चारको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै गाउँपालिका पारदर्शी रूपमा सूचना प्रवाह गर्न तत्पर रहेको उल्लेख गर्नुभयो।

ऐरावती गाउँपालिका–५ का वडाध्यक्ष चन्द्र रोका मगरले आमनागरिकका आवाज उठाउन सञ्चारमाध्यमले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो।

पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीले सञ्चार नीति निर्माणको पहलप्रति गाउँपालिकालाई धन्यवाद दिनुभयो।

गाउँपालिकाले सञ्चार नीति निर्माणसँगै स्थानीय सञ्चारमाध्यमको संस्थागत विकास, पत्रकारको क्षमता अभिवृद्धि तथा स्थानीय सरकार र सञ्चार क्षेत्रबीचको सहकार्य थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।

गाउँपालिकाका उपाध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गौतम, वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीको उपस्थिति थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय