प्यूठान । लामो समयदेखि बन्द रहेको मच्छी–काठमाडौं रात्रिबस सेवा भोलि शुक्रबारदेखि पुनः सञ्चालनमा आउने भएको छ। दशैँ–तिहारमा घर फर्किने तथा काठमाडौं आवतजावत गर्ने यात्रुलाई सहजता प्रदान गर्ने उद्देश्यले झिमरुक गाउँपालिका–५ स्थित मच्छी बसपार्कबाट नियमित रात्रिबस सञ्चालन गर्न लागिएको हो।
झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीका अनुसार मच्छीबाट काठमाडौंसम्म बस सेवा सञ्चालन गर्ने विषयमा झिमरुक गाउँपालिका, प्यूठान नगरपालिका र बस व्यवसायी समितिबीच सहमति भएको छ।
चाडपर्वको समयमा यात्रुको चाप बढ्ने भएकाले लामो समयदेखि रोकिएको बस सेवा पुनः सञ्चालन गर्न पहल गरिएको अध्यक्ष महतरा क्षेत्रीले बताउनुभयो।
बस सेवा सञ्चालनलाई सहज बनाउन बाग्दुला–मच्छी सडक मर्मतको कामसमेत अघि बढाइएको छ। सडक स्तरोन्नतिको क्रममा रहेको उक्त सडक अविरल वर्षाका कारण क्षतिग्रस्त भएपछि दुवै पालिकाको समन्वयमा मर्मत गर्ने विषयमा छलफल भएको अध्यक्ष महतरा क्षेत्रीले जानकारी दिनुभयो।
सडकको अवस्थाका कारण यात्रुले भोग्दै आएको समस्यालाई मध्यनजर गर्दै सडक मर्मत र यातायात सेवा सञ्चालनलाई प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ।
मच्छीबाट काठमाडौंका लागि नियमित रात्रिबस सेवा पुनः सञ्चालनमा आएपछि झिमरुक गाउँपालिका तथा आसपासका क्षेत्रका नागरिकलाई राजधानी आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ। विशेषगरी दशैँ–तिहारमा घर फर्किने यात्रुलाई यसले राहत पुग्ने विश्वास गरिएको छ।

S.K. Creative Media Group