प्युठान । जिल्लाको झिमरुक गाउँपालिका-४, स्थित काउछेदेखि छिमेकी जिल्ला अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कसम्म नियमित जीप संचालन हुने भएको छ । आइतवार गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले भिमरुक-४, काउछेमा रहेको वडा कार्यालय भवनमा भएको औपचारिक कार्यक्रमका बीच जीप सेवाको उद्घाटन गर्नुभएको हो।

 

उपाध्यक्ष पोखरेलले नियमित जीप सेवा संचालनले दुबै जिल्लाका यात्रुलाई सहज हुने बताउनुभयो । यातायात सेवा संचालन नहुँदा स्थानीयलाई समस्या भएको भन्दै जिप सेवा संचालनमा पहल गरिएको उहाँले जानकारी दिनुभयो । यातायात संचालनले दुई जिल्ला बीचको सम्वन्धलाई थप सुमधुर बनाउने समेत विश्वास व्यक्त गर्नुभयो।

जीप सेवा झिमरुक-४, को वडा कार्यालयबाट छुटेर चौर, उपल्लो बांगे, गोखुंगा (सिमेदेउराली), रतनमारे हुँदै अर्घाखाँची सदरमुकाम सन्धिखर्कसम्म पुग्ने छ । विहान ६ बजेदेखि छुट्ने जीपको भाडादर प्रति व्यक्ति चार सय रुपैयाँ कायम गरिएको छ । देउराली यातायात अर्घाखाँचीको जीप सन्धिखर्कबाट दिउँसो १२ बजे छुट्ने व्यवसायीको भनाइ छ ।

दैनिक दर्जनौ यात्रुहरु प्यूठान अर्घाखाची आउजाउ गर्ने र बिचमा दुई जिल्ला जोडेनगरी जिप संचालन नहुँदा यात्रुले सास्ती पाउदै आएका थिए । अन्तर जिल्ला जिप सेवा संचालनले यात्रामा सहज हुने अपेक्षा स्थानीयको रहेको छ।

प्युठान र अर्घाखाँची जिल्लाका यात्रुलाई यो रुट छोटो पर्ने भएकोले अर्घाखाँचीको पर्यटकीयस्थल सुपारदेउराली मन्दिर र प्युठानको स्वर्गद्वारी मन्दिर दर्शनमा सहजता हुने झिमरुक गाउँपालिका-४ नम्बर वडा अध्यक्ष सिताराम पोख्रेलले बताउनुभयो । जिप सेवा नियमित गर्ने कुरामा सबै पक्ष जिम्मेवार भएर काम गर्नुपर्ने बताउनुभयो ।

जिल्लाका नागरिकहरुले प्यूठानको धार्मिक एवं पर्यटकीय तिर्थस्थल स्वर्गद्धारीदेखि छिमेकी जिल्ला गुल्मीको पर्यटकीयस्थल रेसुंगालाई लक्षित गरी नियमित जीप/बस संचालन गर्न समेत माग गर्दै आएका थिए ।

कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, व्यवसायी, स्थानीय जनता लगाएतको उपस्थिति रहेको थियो । जिप सेवा संचालले स्थानिय हौसिएका छन् । स्थानिय सरकारले सडक सुधार गर्दै नियमित जिप सेवा संचालन गराउन जिम्मेवार हुन स्थानीयले आग्रह गरेका थिए । कार्यक्रममा जिप चालकलाई फुल माला र अबिरले स्वागत गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय