काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतले हामि नेपालीलाई सहकार्य, एकताका साथ राष्ट्रको समृद्वि, सामाजिक न्याय, सुशासन र विकासको नारामा केन्द्रित भएर अगाडि बढ्ने प्रेरणा दिएको बताउनुभएको छ ।
नेपालको मौलिक संवत् नेपाल संवत् ११४४ नयाँ वर्ष शुभारम्भको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रिय विभूति शंखधर शाख्वाको स्मरण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकलाई समृद्धिको दिशामा लैजान अग्रसर भएको बताउनुभएको हो ।
नेपालको मौलिक संवत् नेपाल संवत् ११४४ शुभारम्भको अवसरमा आज शुभकामना दिँदै उहाँले साख्वा एक प्रगतिशील सामाजिक अभियन्ता र नेपाल संवतका प्रवर्तकका रूपमा रहेको चर्चा गर्नुभएको छ ।
नेवारी समुदायमा जन्मिएर सिङ्गो देशकै गरिमा र मौलिकताको लागि साख्वाले पुर्याएको योगदान हामी सबैका लागि प्रेरणादायी रहेको भन्दै प्रधानमन्त्री दाहालले जनतालाई ऋणबाट मुक्त गर्ने अभियानका अभियन्ता उहाँले समकालीन समाजमा परिवर्तनको महत्त्वपूर्ण जग बसाल्नुभएको बताउनुभयो।
आफ्नो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले नेपाल संवत्लाई राष्ट्रिय संवतको मान्यता दिने ऐतिहासिक निर्णय गरेको स्मरण गर्दै उहाँले नेपाल संवत नेपालीहरुको आफ्नै मौलिकता र इतिहास भएको बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले आफू तेस्रो पटक प्रधानमन्त्री रहँदा मन्त्रिपरिषदबाट सरकारी दस्तावेजमा विक्रम संवतसँगै नेपाल संवत पनि लेखिने निर्णय भएको उल्लेख गर्नुभयो ।