सुजल श्रेष्ठ
प्यूठान । प्यूठान नगरपालिका वडा नम्वर ४ काठेबरका सोनु सुनार बैदेशिक रोजगारीका लागि कतारमा थिए । काम गर्दै गर्दा त्यतैबाट एजेन्ट मार्फत रुस पुगे । रुस पुगेर सेनामा भर्ति भएको १८ दिनसम्म परिवारको सम्र्पकमा रहेका सुनारको त्यसपछि सम्पर्क भएको छैन ।

सोनुका साथीले ९ डिसेम्बरमा सोनुको युद्धमा ज्यान गएको भनेर ९ जनवरीमा परिवारलाई खवर पठाएका थिए । तर अहिलेसम्म परिवारले उक्त घटनाको आधिकारिकता पाएका छैनन । जसले गर्दा परिवारले सोनुको मृत्यु संस्कार समेत गरेका छैनन ।

“९ डिसम्बरमा मृत्यु भएको भनेर ९ जनवरीमा उसको साथीले फेसबुकमा म्यासेज पठाएको रहेछ,” सोनुका बुवा कालि बहादुर वि.क.ले भन्नुभयो,“अहिलेसम्म आधिकारीक रुपमा मृत्यु भएको हो÷होइन जानकारी पाउन सकेका छैनौं ।” जसले गर्दा मृत्यु सस्कार समेत गर्न नसकिएको बुवा कालिबहादुर बताउनुहुन्छ । छोराको मृत्युको खवर सुनेपछि भारतमा रोजगारीमा रहेका सोनुका बुवा घर आएको पनि दुई महिना वितिसकेको छ ।

आर्थिक रुपमा विपन्न परिवारलाई एकातर्फ परिवारको सदस्य गुमेको पीडा छ भने अर्को तर्फ आधिकारिक जानकारी नपाउँदा पीडा थपिएको छ । घटना भएको दुई महिना बढी समय बितिसक्दा पनि परिवारले सरकारले पुष्टी गर्ने नाम भेटाएका छन न त लास नै । कन्सुलर विभागले अहिले परिवारलाई डिएनए परिक्षणका लागि काठमाण्डौं बोलाएको सोनुका श्रीमती माया वि.क.ले बताउनुभयो । तर उनीहरुसँग काठमाण्डौ जाने खर्च समेत छैन । “पहिले पनि एक पटक पुगेर फकिएको हो,” मायाले भन्नुभयो,“कन्सुलरबाट फेरी डिएनका लागि बोलाउनुभएको छ तर जाने खर्च छैन ।”

उता सोनुका परिवार मृत्युको आधिकारीक पुष्टि खोजिरहेका छन भने प्यूठानकै स्वर्गद्धारी नगरपालिका वडा नम्वर ७ तापाका लाल बहादुर घर्तिमगरको रुसमा मृत्यु भएको खवर पाएपछि उनको परिवारले कुशको शव बनाएर अन्त्येष्ठी गरेका छन् । गएको दशै भन्दा एक हप्ता अघि नेपालबाटै रुस पुगेका उनको दुई महिना अघि युद्धमा ज्यान गएको खवर पाएपछि चैत २ गते मृत्यु संस्कारको काम अघि बढाएको हो ।

दाईको साथी मार्फत खवर पाएपछि मृत्यु संस्कार अघि बढाएको मृतकका भाई टोपाराम घर्तिमगरले बताउनुभयो । “लामो सयम विदेश बसेर फर्किनुभएको थियो,” टोपारामले भन्नुभयो,“गाउँमा खोलेको बाख्रापालन व्यवसाय सफल नभएपछि फेरी विदेश जाने सोंच बनाएर जानुभएको हो ।”

रुसी सेनामा भर्ना हुन पुगेका स्वर्गद्वारी नगरपालिका–९ जुडापाटाका युवराज नेपाली भागेर नेपाल आउनुभएको छ । युद्धमा घाईते हुनुभएका २२ वर्षीय नेपाली ७ महिनापछि भागेर नेपाल आउनुभएको छ ।

त्यसैगरी स्वर्गद्वारी नगरपालिका–९ कै दिपक बुढाथोकी रुसमै अलपत्र रहेको भन्दै उद्धार गरिदिन बुवा देविराम बुढाथोकीले आग्रह गर्नुभएको छ । आर्थिक प्रलोभन र दलालको फन्दामा परेर नेपालीहरु रुसी सेनामा भर्ना भएको पाईको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय