
प्यूठान । झिमरुक गाउँपालिका–३ आहालखोलाका दण्ड बहादुर खत्रीले ३ दशकदेखी गाउँमै व्यावसायिक आलु खेती गर्दै आउनुभएको छ । २०५३ सालदेखी गाउँमा व्यावसायिक रुपमा आलुखेती गर्दै आउनुभएका ८४ वषीय खत्री अहिलेपनि सक्रिए रुपमा आलु खेती गर्दै गाउँमा नेतृत्व गर्नुहुन्छ । गाउँमा राम्रो उत्पादन हुने भएपछि उहाँको परिवारले अहिलेसम्म आलु खेतीलाई निरन्तरता दिँदै आएको छ ।
गाउँमा प्रत्येक घरले आलु खेतीबाट वार्षिक लाखौं रुपियाँ आम्दानी गर्दै आएका छन् । गाउँमा उत्पादन भएको आलु विक्रीका लागि बजार र लामो समय राख्नका लागि स्टोरको समस्या भएपनि यातायातको सुविधाले गर्दा केहि सहज हुँदै गएको छ । स्थानीय बिन्दु के.सी.ले गाउँका प्रत्येक घरले आलु खेती गर्ने गरेको सुनाउनुभयो । “पहिले हाम्रै घरबाट खेती शुरु गरिएको थियो रे,” उहाँले भन्नुभयो, “अहिले पनि गाउँमा आलुखेती निरन्तर भइरहेको छ ।” गाउँका सवै किसान मिलेर आलु स्टोर गर्न लागि दाङको लमहीमा रहेको कोल्ड स्टोरमा लैजाने गरिएको उहाँले बताउनुभयो ।
नयाँ जातको आलु परीक्षण
गाउँमा यस वर्ष नयाँ जातको आलुको परिक्षणबाट राम्रो उत्पादन भएपछि स्थानीय उत्साहित भएका छन् । आलु बालीमा जातिय प्रविधि प्रर्दशन कार्यक्रम अन्र्तगत तीन वटा जातको आलुको परीक्षण गरिएको थियो । खुमल विकास, खुमल उपहार, खुमल उज्वल जातको वीऊ लगाइएको र राम्रो उत्पादन देखिएको छ । आलुको चिप्स उद्योग प्रयोजनका लागि फस्ट च्वाइस फुड प्रा.लि. बुटवलबाट वीऊ ल्याएर परीक्षण गरिएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानका निमित्त प्रमुख उमेशचन्द्र श्रेष्ठले बताउनुभयो । यो वर्ष परिक्षण गरिएका आलुको उत्पादन समेत राम्रो भएकाले अर्को वर्ष समेत विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
जिल्लामा एक हजार एक सय ९० हेक्टर क्षेत्रफलमा व्यावसायिक आलु उत्पादन हुने गरेको छ । जिल्लामा प्रति हेक्टर १२ देखी १५ मेट्रिकटन उत्पादन हुने गरेको कार्यालयको तथ्याङ्क छ । जिल्लाको झिमरुक, नौबहिनी र गौमुखी गाउँपालिकामा व्यावसायिक रुपमा आलु खेती हुने गरेको छ ।