प्यूठान । लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरीले देशको समृद्धिको लागि पहिला महिलालाई सक्षम बनाउनुपर्ने बताउनुभएको छ । सोमबार झिमरुक गाउँपालिका-६ नेटामा आयोजित महिला नेतृत्व तथा सीप विकास कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महिलालाई कुनैन कुनै ब्यवसायमा जोड्दै महिलालाई सक्षम बनाउदै आय आर्जन वृद्धि गरेर आत्मनिर्भर बनाउन सकेमात्र देशमा समृद्धि ल्याउन सकिने बताउनुभएको हो ।

“तालिम लिएर मात्र हुदैन,” उहाँले भन्नुभयो, “पढेर भन्दा गरेर जानिन्छ ।” सीपलाई ब्यवहारमा लागू गर्दै आफुलाई आत्मनिर्भर बनाउन तर्फ लाग्न उहाँले आग्रह गर्नुभयो । “नेतृत्वले भिजन दिन सक्नुपर्छ,” उहाँले भन्नुभयो, ” भिजन सहितको नेतृत्व दिन महिलाहरू तयार हुनुपर्छ ।”

पछिल्लो समय जिल्लामा महिला हिंसा, बालविवाह बढेको भन्दै यो रोक्न सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले मध्यम चेतनाबाट महिला माथी उठ्नुपर्ने बताउनुभयो । “महिलालाई सक्षम बनाउनुपर्ने अहिलेको मुल आवश्यकता हो,” उहाँले भन्नुभयो, “त्यसको लागि दलिय बिकृती अन्त्य हुनुपर्छ ।”

झिमरुक गाउँपालिकाका ८ वटै वडामा चैत १३- २५ सम्म सामाजिक बिकास डिभिजन कार्यालय बिजुवार प्यूठानको आयोजनामा महिला नेतृत्व तथा सीप विकास कार्यक्रम संचालन भएको हो । कार्यक्रममा सहजीकरण अनुष्का घिमिरे सहितको टिमले गरेको थियो ।

कार्यक्रममा महिलाको नेतृत्व बिकास, विभिन्न सिपमुलक तालिममा जोडेर आय आर्जनमा वृद्धि गरि महिलालाई कसरी आत्मनिर्भर बनाउने भन्ने बिषयमा प्रस्तुति रहेको थियो । सो कार्यक्रममा स्थानीय ४० बढी महिलाहरुको सहभागिता रहेको थियो ।


आज गौमुखी क्याम्पसको सभा हलमा सामाजिक बिकास डिभिजन कार्यालय बिजुवारको आयोजनामा झिमरुकका प्रत्येक वडाबाट छनोट भएका ३/३ जना र गौमुखी क्याम्पस मच्छीमा अध्ययनरत ८ जना विद्यार्थी गरि ३० जनाको लागि एक हप्ते सीप बिकास तालिम आयोजना गर्न लागिएको सामाजिक बिकास डिभिजन कार्यालय बिजुवारका इन्जिनियर जनक अधिकारीले जानकारी दिनुभयो । यो तालिमबाट आत्मनिर्भर बनाउन सहयोग पुग्ने अपेक्षा कार्यालयले गरेको छ ।

झिमरुक गाउँपालिका वडा नम्बर ६ का कार्यबाहक वडा अध्यक्ष मित्रु गिरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिती लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीको रहेको थियो भने कार्यक्रमको संचालन सामाजिक बिकास डिभिजन कार्यालय बिजुवारका इन्जिनियर जनक अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि कर्मचारी लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय